
एजेन्सी । भियतनाम सरकारले सोमबारबाट कोरोना भाइरसको नयाँ भेरिएन्टको सामूहिक परीक्षण सुरू गरेको छ । हो ची मिन्ह शहरमा जोखिममा रहेकाहरूको सामूहिक परीक्षण सुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अब प्रत्येक दिन १ लाख भन्दा बढी व्यक्तिहरूको परीक्षण गर्ने योजना रहेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले परिक्षणका साथै शहरमा १५ दिनका लागि नयाँ सामाजिक दूरीका उपायहरू घोषणा गर्दै पसल र रेस्टुरेन्टहरू बन्द तथा धार्मिक गतिविधिहरूमा समेत प्रतिबन्ध गरिएको छ ।
साताको अन्त्यमा अधिकारीहरूले देशमा देखा परेको नयाँ भेरिएन्ट धेरै खतरनाक रहेको बताएका थिए । नयाँ भेरियन्ट भारत र बेलायतमा पहिचान गरिएका भेरियन्टको पनि हाइब्डि रहेको र हावाबाट पनि सजिलै सर्नसक्ने बताइएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी उच्च जोखिममा रहेका समूहहरूलाई केन्द्रित गर्दै परिक्षण बढाइने जनाइएको छ । पहिलो लहरको कोरोना भाइरस नियन्त्रणमा सापेक्ष सफलता हासिल गरेको भियतनाममा गत साता नयाँ भेरियन्ट देखा परेसंगै संक्रमितहरुको संख्या तीव्र रूपमा बढिरहेको छ ।
भियतनाममा हालसम्म ७ हजार जना संक्रमित हुँदा ४७ जनाको मृत्यु भएको छ । यद्यपि पछिल्लो नयाँ भेरियन्ट देखा परेसँगै एकै पटक १ सय २५ नयाँ संक्रमित थपिएका छन् । हो ची मिन्ह शहरमा आयोजित एक धार्मिक कार्यक्रमका कारण उक्त प्रकोप फैलिएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्