१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संवैधानिक इजलासमा बस्ने न्यायाधीशबारे आज टुंगो लाग्ने, रोष्टरका न्यायाधीशहरु नै विभाजित


0
Shares

काठमाडौं । संसद विघटनविरुद्ध परेका मुद्दाको किनारा लगाउन गठित संवैधानिक इजलासबारे आज टुंगो लागने भएको छ ।

इजलासमा रेहका दुई जना न्यायाधीशमाथि विपक्षी रिट निवेदकहरुले लगातार प्रश्न उठाएपछि आज टुंगो लाग्ने भएको हो ।

आज संवैधानिक इजलासमा मुद्दाको निरुपणको विषयले नभई संवैधानिक इजलासबाट न्यायाधीशहरु बाहिरिने कि नबाहिरने भन्ने विषयले प्राथमिकता पाउँदैछ ।

न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने कि नरहने भन्ने टुंगो आज इजलासबाटै लाग्ने सम्भावना छ । १४६ जना सांसदका वकिलहरुले न्यायाधीश केसी र श्रेष्ठले इजलास छाड्नु पर्ने माग गर्दै आएका छन् ।

केसी र श्रेष्ठले संवैधानिक इजलास नछाड्ने भनेर तयार पारेको आदेशमा अरु दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले हस्ताक्षर गर्न नमानेपछि विषय जटिल बनेको छ ।

दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनसँग सम्बन्धि ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास बनाउनु भएको थियो।

शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गर्ने १४६ जना सांसदका वकिलहरुले नेकपा एकता बदर गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको निस्सा नदिने केसीबाट निष्पक्ष सुनुवाइ हुन नसक्ने दाबी गर्दै इजलास छाड्न दबाब दिइरहेका छन् ।

हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित अनौपचारिक रुपमा बसेको संवैधानिक इजलासको रोष्टरमा हाल कायम रहेका १२ न्यायाधीशको छलफलमा अधिकांशले ‘प्रश्न उठेपछि इजलास छाड्नु नै उपयुक्त हुने’ सुझाव दिएपछि समस्या थप पेचिलो बनेको हो । प्रधानन्यायाधीश राणा भने केसी र श्रेष्ठलाई नछोडाउने पक्षमा हुनुहुन्छ ।