१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बझाङका २ सय ५८ परिवारलाई राहत वितरण


0
Shares

डीबी विष्ट
बझाङ । जिल्लाका २ सय ५८ विपन्न र विशेष क्षमता भएका परिवारलाई राहत वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्ति, एकल महिला, अति विपन्न र दलित समुदायलाई राहत वितरण गरिएको हो ।

दोस्रो लहरको कोभिड–१९को संक्रमण गाउँ–गाउँसम्म फैलिएर निषेधाज्ञाको समयमा युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा राहत वितरण गरिएको कार्यक्रम अधिकृत प्रसंसा देवानले जानकारी दिनुभयो । स्थानीय तह तथा वडाको सिफारिसको आधारमा राहत वितरण गरिएको उहाँले बताउनुभयो ।

मिसन टु नेपालले प्रति परिवार एक कट्टा(२५ किलो) चामल, ३ केजी दाल, २ केजी चिनी, २ केजी नुन, ४ पोका खाने तेल, लुगा धुने र नुहाउने साबुन उपलब्ध गराएको छ । पाँचवटा स्थानीय तहमा झण्डै ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरीएको युएमएनका लेखाअधिकृत केशबराज जोशीले जानकारी दिनुभयो ।

बुंगल नगरपालिकामा ५०, खप्तडछान्ना गाँउपालिकामा ५०, मष्टा गाँउपालिकामा ६७, थालारा गाँउपालिकामा ३५ र छविसपाथीभेरा गाँउपालिकामा ५६ परिवारलाई राहत वितरण गरिएको आयोजनाले जनाएको छ ।