
एजेन्सी । गलत समाचार फैलाएको आरोपमा म्यानमारको सेनाले दुई पत्रकारलाई जेल सजाय दिएको छ ।
बुधबार म्यानमारको दक्षिणी क्षेत्रमा रहेको सैन्य अदालतले औङ क्याव र जाजा लाई दुई वर्षको जेल सजाय सुनाएको हो । गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेपछि पत्रकारद्वयले गरेको रिपोर्टिङको कारणउ जेल सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संविधानको रक्षाको लागि पत्रकारहरूलाई जेल पठाइएको सेनाको दावी छ । तर, सेनाविरुद्ध भइरहेको प्रदर्शनलाई दबाउने प्रयासस्वरूप पत्रकारहरूलाई जेल हालिएको नेताहरूको आरोप छ । म्यानमारमा सेनाले ‘कू’ गरेपछि ८७ पत्रकार पक्राउ परिसकेका छन् भने ५१ पत्रकार अझै पनि हिरासतमा रहेको समाचारमा उल्लेख छ ।
म्यानमारमा सेनाले प्रजातन्त्रवादी नेताहरूलाई हिरासतमा लिँदै ‘कू’ गरेसँगै निरन्तर सेनाविरुद्धको प्रदर्शन जारी छ । प्रदर्शनको क्रममा अहिलेसम्म ८ सय ४१ जनाको मृत्यु भइसकेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)लाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच, याङ्गुन शहरमा प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा सेनाले १५ जनालाई कडा परिश्रमसहित २० वर्षको जेल सजाए सुनाएको छ । औद्योगिक कारखानामा आक्रमण गरेको आरोपमा अन्य २८ जनालाई पनि कारबाही गरिएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्