
बागलुङ । पार्टीले सांसद पदबाट निष्कासित गरेपछि राष्ट्रिय जनमोर्चाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले जनताको अभिमतविपरित जान नसकेको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चाको बिहीबार बसेको केन्द्रीय समिति बैठकले निष्कासित गरेलगत्तै थापाले सामाजिक सञ्जालमार्फत आफू मतदाताको अभिमतविपरित जान नसकेको भन्दै मतदातासमक्ष माफी समेत माग्नुभएको छ ।
थापाले लेख्नुभएको छ, ‘कांग्रेसको सरकार नबन्दा आफ्नो सांसद पद खारेज हुनु इतिहासको मजाक हो, इतिहासले मुल्याङ्कन गर्नेछ, जनताको अभिमतविपरित जान सकिन, हजुरहरूको अभिमत प्रति हार्दिक नमन ।’ थापा बागलुङ क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित हुनुहुन्थ्यो ।
प्रदेश सभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेर निर्वाचित हुनुभएका थापा अहिले एमाले नेतृत्वकै सरकारविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न राजनीतिक र नैतिक रूपमा पनि नमिल्ने थापाको भनाइ छ ।

यसअघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो । सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आउनुभएको थियो ।
जिल्लामा एमाले गठबन्धनसँग मिलेर चुनाव लड्नुभएका थापाले पटक–पटक कांग्रेसलाई सर्मथन गर्नु जनताको अभिमत विपरित हुने बताउँदै आउनुभएको थियो । जनमोर्चाले सांसद थापा पार्टी सदस्य नरहेको जानकारी पत्र बिहीबार संसद सचिवालयमा दर्ता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्