१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानन्यायाधीश राणाद्वारा नागरिकतासम्बन्धी अध्यादेशको सुनुवाई गर्न वरिष्ठतम् न्यायाधीशको संवैधानिक इजलाश गठन


0
Shares

काठमाडौं जेठ, २१ । नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेका रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठ न्यायाधीशहरू रहेको संवैधानिक इजलाश गठन गर्नुभएको छ ।

राणाले संवैधानिक इजलाश तोक्दा वरिष्ठताको रोलक्रम अनुसार नै इजलाश तोक्नुभएको छ । इजलाशमा राणासहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा तोकिनु भएको छ ।

वरिष्ठ पाँच न्यायाधीश मध्ये विश्वम्भर श्रेष्ठ स्वास्थोपचारका क्रममा रहनुभएकाले त्यसपछिका बरिष्ठतम् न्यायाधीश खतिवडालाई बेञ्चमा राखिएको हो ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेको रिट सुनुवाईका लागि संवैधानिक इजलाशमा रोष्टरमा रहेका मध्ये कनिष्ठ न्यायाधीश राखिएकामा इजलाशमै वकीलहरुले विरोध जनाएका थिए । नेकपा विवादको फैसला र पुनरावलोकन नहुने आदेश दिने दुई न्यायाधीशलाई पनि इजलाशमा राखेपछि न्यायाधीशरुबीच मै पनि मनमुटाव भएको थियो ।

त्यसपछि प्रधानन्यायाधीश राणाले सुनुवाई स्थगित गर्दै आइतबारका लागि इजलाश बस्ने घोषणा गर्नुभएको थियो । सोही इजलाश तोक्नेबारेमा छलफल गर्न आज सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक पनि बोलाइएको छ ।

नागरिकता अध्यादेशविरुद्ध अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायतले दिएको ६ वटा रिट परेको छ ।

राष्ट्रपति विद्या भण्डारीले जेठ ९ गते नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको थियो ।