१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीय सरकारको बजेट संघीयताको मर्म विपरीत: गाँउपालिका राष्ट्रिय महासंघ


0
Shares

किरण थापा
सिन्धुपाल्चोक । संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटप्रति स्थानीय तहका जनप्रतिनिधिले असन्तुष्टी जनाएका छन् ।

सरकारले लोकप्रियताको नाममा बजेट ल्याएर आर्थिक भार जति स्थानीय तहलाई थोपरिदिएको गाँउपालिका राष्ट्रीय महासंघले जनाएको छ ।

महासंघले बजेटवारे छलफल गर्न आयोजना गरेको ‘स्थानीय सरकार विषयक भर्चुअल बजेट विशेष कार्यक्रम’मा जनप्रतिनिधिले बजेटको नीति र कार्यक्रमसँगै विनियोजित बजेटमा समेत असन्तुष्टि जनाएका छन् ।

स्थानीय सरकारका सन्दर्भमा संघीय सरकारबाट ल्याइएको बजेटका मुख्य मुख्य विषय र सवालहरु र गाउँपालिकाहरुले आगामी आवको बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयमा महासंघले समिक्षा गरेको छ ।

स्थानीय सरकारसँग प्रत्यक्ष सरोकार राख्ने संघीय सरकारका नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनको लागि महासंघले सबै गाउँपालिकाहरुमा आव्हान गरेको छ ।

महासंघका महासचिव एवं सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले सरकारले नागरिकको जीवन बचाउन स्थानीय तहमा मागअनुसार खोप उपलब्ध गराउन नसकेको र खरिद जिम्मा पनि दिन आनाकानी गरिरहेको बताउनुभयो ।

खोप खरिदको जिम्मा दिए स्थानीय तह त्यसका लागि स्रोत जुटाउन तयार रहेको उहाँको जिकिर छ ।

विशेष गाउँपालिका वार्षिक परिषद् बैठक राखेर संघीय सरकारलाई दबाब दिनुपर्ने उहाँको सुझाव छ ।

सरकारले ल्याएको बजेटमा प्रदेश १ मा २२ वटा गाउँपालिकाले विशेष र २४ वटा गाउँपालिकाले समपुरक बजेट नपाउनुको कारण सोधीखोजी गर्न महासंघ लागिपरेको उहाँको भनाइ छ ।

कोरोना महामारी नियन्त्रणका लागि स्थानीय तहलाई आवश्यकताअनुसार बजेट व्यवस्थापन गर्ने भनिए पनि अहिलेसम्म नपठाएकोले अब स्थानीय स्तरका कोभिड अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण र कर्मचारीसहितको बजेट माग गरिने उहाँले जानकारी दिनुभयो ।

स्थानीय पालिकाले खोप खरिदको माग संघले नसुनेको, राजस्व बाँडफाँटको रकम गत आवमा पनि ३० प्रतिशत नआएको, आन्तरिक राजस्व नउठेको र यस पटक पनि राजस्व बाँडफाँटको रकम नपठाए स्थानीय स्तरमा सञ्चालन भइरहेका सबै योजना अधुरो रहने स्थिति रहेको तामाङले बताउनुभयो ।

संघले स्थानीय सरकारलाई स्रोत व्यवस्था गरिदिनुपर्नेमा उहाँको जोड छ ।

महासंघकी उपाध्यक्ष एवं झापाको कमल गाउँपालिका उपाध्यक्ष मेनुका काफ्लेले संघीय सहरी मन्त्रालयले नगरपालिकालाई मात्रै पैसा दिएर गाउँपालिकाका लागि बजेट नछुट्याएको गुनासो गर्नुभएको छ ।

एउटा योजना माग गर्दा अर्को योजनामा बजेट पठाउँदा फ्रिज हुने अवस्था रहेको उहाँले बताउनुभयो ।

गाउँपालिकालाई जानकारी नदिएर बजेट पठाउँदा समस्या देखिएको उहाँको भनाई छ ।

कार्यक्रममा गाउँपालिका महासंघका अध्यक्ष तथा सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले सहभागीबाट आएका गुनासा तथा समस्यालाई सम्बोधन गर्न महासंघले सरकारलाई झकझकाउने प्रतिबद्धता गर्नुभएको छ ।

बजेटमार्फत सरकारले ल्याएका विभिन्न कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहमा गएको रकम अपुग हुने अवस्था रहेकाले त्यसलाई सम्बोधन गर्न महासंघले पहल गर्ने उहाँको भनाई छ ।