१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


तेस्रो मुलुकमा ढुंगा, गिट्टी, र बालुवा निकासी खुला गर्ने निर्णय फिर्ता लिइयोस् : नागरिक समाज


0
Shares

काठमाडौं । बजेट मार्फत ढुंगा, गिट्टी, बालुवा तेस्रो मुलुकमा निकासी खुला गर्ने सरकारकाे निर्णयप्रति जागरुक नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ ।

नागरिक समाजले शनिवार विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको अन्तर्निहित आशय प्रष्ट नभएको तथा धेरै अन्योल र आशंका उत्पन्न भएका कारण ध्यानाकर्षण भएको जनाएको हो ।

‘भारतमा गिट्टी, ढुंगा, बालुवाको निकासी बढेसँगै चुरेभावर लगायत नेपालको तराई भागमा पानीको स्रोत सुक्ने, अनियन्त्रित बाढीपहिरो आउने, सुक्खापन, खडेरी बढने, खेती उत्पादनमा क्रमिक ह्रास हुन थालेको समस्या सबैलाई थाहा छ’, विज्ञप्तिमा भनिएकाे छ ।

सरकारले गिट्टी बालुवा बेचेर कमाउने भन्दा बढी पैसा राष्ट्रपति चुरेभावर संरक्षण कार्यक्रममा लगाइसकेको बताउँदै नागरिक समाजले मनोमानी ढंगले सरकारले लिएको निर्णय गलत आशय मात्र नभएर भ्रष्ट मानसिकताकाे उपज भएकाले निर्णय तुरुन्त फिर्ता मागसमेत गरेकाे छ ।  

‘खनिज पदार्थ जस्तो देखिए पनि यसअघि नै चुरेभावर क्षेत्रबाट अत्याधिक मात्रामा ढुंगा, गिट्टी र बालुवा भारत निकासी हुँदा चुरेभावर तथा तराई क्षेत्रमा यसको गम्भीर वातावरण, पर्यावरण, कृषि तथा जनजीविकामा प्रभाव परिसकेको र तराईका भूभागमा मरुभूमिकरण बढ्दै गएको देखिएपछि सरकारले २०७१ सालदेखि यस्ता खनिजको निकासीमा रोक लगाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।