
डम्मर बुढा मगर
बागलुङ । जिल्लाकाे बल्देधुरी घटनामा संलग्न १२ जनालाई जेल चलान गरिएको छ ।
गत चैत १५ गते होली खेल्ने क्रममा दुईजना युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालत बागलुङले थुनामा पठाएको छ । घटना लगत्तै उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका १३ जनामा हिरासतमै कोरोना संक्रमण पुष्टि भएपछि पेशी सरेको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएका १२ जनालाई जेल चलान गरिएको हो । एक जनामा अझै पोजेटिभ आएकाले आइसोलेसनमा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बडिगाड गाउँपालिकाका रेशम बुढा मगर, झन्बहादुर बुढा, मिलन बुढा, सूर्य बुढा, कुमार छन्त्याल, तीर्थलाल बुढा, ढालबहादुर बुढा, रुपेश बुढा, बालजंग गुरुङ, यामबहादुर बुढा, तेजेन्द्र छन्त्याल र सुमन बुढालाई जेल चलान गरिएको हो ।
भेषराज बुढाको भने पटक–पटक पीसीआर रिपोर्ट पोजेटिभ आएकोले कारागार पठाउन नसकिएको अदालतका से्रस्तेदार सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । ती युवाको ५० दिनदेखि पीसीआर पोजेटिभ देखिएको छ । घटनामा अझै ५ जना फरार छन् ।
निसीखोला गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षिय दिपक परियारलाई भीरबाट खसालेर मारेको आरोप उनीहरूमाथि लागेको छ ।
प्रतिक्रिया दिनुहोस्