
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षमा अवसरवादी चरित्र भएको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीमा भएको सत्ताप्रतिको आशक्तिको फाइदा जसपाको महन्थ ठाकुर पक्षले लिएको उहाँको आरोप छ । ‘ओलीजीमा सत्ताप्रतिको आशक्ति छ, मधेशी दलहरूले त्यसको उपयोग गरिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरु(महन्थ ठाकुर पक्ष)को अवसरवादी चरित्र लामो समयदेखि देखिँदै आएको हो ।’
शुक्रबार राति गरिएको सरकार पुनर्गठन गैरसंवैधानिक भएको डा. महतले बताउनुभयो । प्रधानमन्त्री केपी ओलीमा आफू सत्तामा बस्नका लागि पुनः असंवैधानिक कदम चालेको उहाँको आरोप छ । उहाँले ओली सत्तामा टिक्नका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार रहेको आरोप लगाउनुभयो ।
‘१७ जना मन्त्री भएको मन्त्रिपरिषद्मा १० जना मन्त्री त जसपाको ठाुकर पक्षका मात्र हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘यसबाट के पुष्टि हुन्छ भने ओलीमा आफू सत्तामा हुनुपर्यो, जनता वा देश जस्तोसुकै होस् भन्ने मानसिकता छ ।’
डा. महतले ठाकुर समूह मधेशी जनताप्रति संवेदनशील नभएको निर्वाचनको समयमा मात्र मधेशी जनताको विषयमा कुरा उठाउने गरेको आरोप लगाउनुभयो । ओलीको सत्ता टिकाउने माध्यमको रूपमा ठाकुर समूह प्रयोग भएको उहाँको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस्