
एजेन्सी । सन् २०३० मा हुने फिफा विश्वकप फुटबलको आयोजनाका लागि स्पेन र पोर्चुगलले संयुक्त दावेदारी दिएका छन् ।
गएराति आपसमा मैत्रीपूर्ण खेल खेल्नुअघि एक समारोहबीच दुई देशले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् । स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
स्पेन र पोर्चुगलबीच भएको पहिलो मैत्रीपूर्ण खेलको शताब्दी पूरा भएको अवसर पारेर खेल आयोजना गरिएको थियो । खेलअघि दुवै टोलीका खेलाडी ‘भामोस २०३०’ अंकित टिसर्ट लगाएर मैदान प्रवेश गरेका थिए । स्पेनी राजा फिलिपे छैटौं र पोर्चुगिच राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
सन् २०२२ को विश्वकप कतारमा आयोजना हुँदैछ । त्यस्तै सन् २०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । फिफाले सन् २०३० को आयोजकको घोषणा भने सन् २०२४ मा गर्नेछ ।
पोर्चुगल र स्पेनले आयोजनाका लागि दावेदारी प्रस्तुत गर्ने घोषणा गर्दा बेलायत, आयरल्यान्ड र उरुग्वेले दाबी गर्ने तयारी गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्