
डम्मर बुढा मगर
बागलुङ । बागलुङ नगरपालिका–४ उपल्लाचौर क्षेत्रमा एकै पटक धेरैजनामा कोभिड–१९ संक्रमित भेटिएपछि केही टोल ‘सिल’ गरिएको छ ।
उपल्लाचौरको डुंडुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा उपचार केन्द्र, रेडक्रसहुँदै वडा कार्यालय क्षेत्रमा १ सय भन्दा बढी संक्रमित भएपछि स्थिति नियन्त्रणका लागि ‘सिल’ गर्नुपरेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । खनालका अनुसार श्रीनगरटोलदेखि डुंडुंगा जाने सडकको बस्तीमा मात्रै २५ घरमा ४० बढी संक्रमित छन् ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, नगरप्रमुख जनकराज पौडेल, वडा अध्यक्ष ध्रुवबहादुर केसी, स्थानीय सामाजिक अगुवा समेतको छलफलपछि ती क्षेत्र ‘सिल’ गरिएको हो । ‘सिल’ गरिएको क्षेत्रमा कोही पनि छिर्न नपाउने गरी चौबिसै घण्टा प्रहरी परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।
‘सिल’ भएको क्षेत्रमा स्वास्थ्य शाखाका अत्यावश्यक सेवा र दैनिक खानका लागि सामान मात्रै लैजान दिइएको छ । तर, ती क्षेत्रमा सामग्री पनि वडाबाट व्यवस्थापन गराएर घरका मानिस बाहिर नआउने व्यवस्थापन भैरहेको वडाध्यक्ष ध्रुवबहादुर केसीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्