
काठमाडौं । भाइरोलोजिस्ट डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ म्यूटेन्ट र भेरियन्ट आउँदा खोपको प्रभावकारिता कम हुँदै जाने बताउनुभएको छ ।
ईमेज टेलिभिजनसँगको कुराकानीमा डा. पुनले खोप बनाउँदा भाइरसको एउटा म्युटेन्टको आधारमा बनाइने भएकाले दोस्रो वा तेस्रो म्यूटेन्ट आउँदा त्यसले खोपको प्रभावकारितामा ह्रास आउने बताउनुभयो ।
‘भाइरस म्यूटेसन भएपछि वैज्ञानिकहरूले रोग प्रतिरोधात्मक प्रणालीलाई छल्छ कि, उपचारलाई प्रभावहीन बनाउँछ कि भनेर अनुसन्धान गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘खोप भनेको भाइरसकै कपि गरेर बनाएको हुन्छ, तर भाइरस म्यूटेसन वा नयाँ भेरियन्ट भएर आएमा खोपको प्रभावकारितमा ह्रास आउनसक्छ ।’
डा. पुनले भाइरसलाई रोक्न नसकिए पनि धेरै व्यक्तिमा खोप लगाएमा म्यूटेसन पनि कम हुने बताउनुभयो । भाइरस धेरै जनामा फैलिएको अवस्थामा म्यूटेसन पनि बढी हुने भएकाले अधिकांश मानिसलाई खोप लगाउन सके नयाँ भेरियन्ट बन्ने सम्भावना कम गर्न सकिने उहाँको भनाइ छ ।
डा. पुनले धेरै मानिसलाई खोप लगाएको खण्डमा नयाँ म्यूटेन्ट वा भेरियन्टको भाइरस आए पनि गम्भीर प्रकृतिका बिरामी र मृतकको संख्या नबढ्ने बताउनुभयो । अहिलेको अवस्थामा खोपले मात्रै मानिसको जीवन रक्षा गर्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
भाइरसको वंशाणु परिवर्तन हुँदा म्यूटेन्ट पनि फरक पर्ने उल्लेख गर्दै डा.पुनले कोरोना भाइरसको ६ हजार भन्दा धेरै म्यूटेसन भइसकेको जानकारी दिनुभयो । ‘नयाँ म्यूटेन्ट र भेरियन्ट आएको भन्दैमा तसिर्ने होइन,’ उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय जानकारी हेर्दा ६ हजार भन्दा बढी म्यूटेसन भइसकेको छ ।’
६ हजारमध्ये केही म्यूटेसन मात्र मानिसका लागि चासो, बहस र चिन्ताको विषय बन्ने गरेको डा.पुनको भनाइ छ । ‘भाइरस निरन्तर म्यूटेसन हुँदै जाँँदा मानव समाजलाई क्षति गर्ने र दुःख दिने भए मात्र चिन्ताको विषय बन्छ र चर्चामा आउँछ,’ उहाँले भन्नुभयो, ‘अन्य म्यूटेसन भएका म्यूटेन्टहरू अन्यन्तै कमजोर हुन्छन् ।’
प्रतिक्रिया दिनुहोस्