१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चालु आर्थिक वर्ष सकिन ३७ दिन बाँकी रहँदा लक्ष्यको २० प्रतिशत राजस्व अझै उठ्न बाँकी


0
Shares

काठमाडौं । चालु वर्ष सकिन ३७ दिन बाँकी रहँदा सरकारी खर्च र राजस्व प्रगति निराशाजनक रहेको छ । चालु वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड खर्च र १० खर्ब ७२ अर्ब २८ करोड प्राप्तिको लक्ष्य छ ।

यो लक्ष्य पूरा गर्न सरकारले ३७ दिनमा ५ खर्ब ९१ अर्ब ५९ करोड खर्च गर्नुपर्ने छ । यस्तै प्राप्ति लक्ष्य पूरा गर्न २ खर्ब ३६ अर्ब ३२ करोड संकलन गर्नुपर्ने छ । तर निषेधाज्ञाले सरकारको राजस्व संकलनको गति लक्ष्य प्रभावित भएको हो ।

चालु आर्थिक वर्षमा सकिन ३७ दिन बाँकी रहँदा लक्ष्यको २० प्रतिशत राजस्व अझै उठ्न बाँकी छ । चालु वर्षको ११ महिना लाग्दा सरकारले ७ खर्ब ३७ अर्ब ३६ करोड राजस्व संकलन गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनुअघि राजस्व संकलन लक्ष्य नजिक देखिएको थियो।

चालु आर्थिक वर्ष राजस्व शीर्षकबाट ९ खर्ब १२ अर्ब ९४ करोड संकलन गर्ने लक्ष्य छ । यो लक्ष्य पूरा गर्नका लागि सरकारले ३७ दिनमा १ खर्ब ७५ अर्ब ५८ करोड संकलन गर्नुपर्छ । लक्ष्य भेट्नका लागि दैनिक ४ अर्ब राजस्व संकलन हुनु पर्छ ।

चालु वर्षको ११ महिना सकिन लाग्दा सरकारले ८ खर्ब ८३ अर्ब ४ करोड मात्रै खर्च गरेको छ । जसमा १४ खर्ब ७४ अर्ब ६४ करोड खर्चको लक्ष्य राखिएको छ । सरकारले लिएको लक्ष्यमा दुई पटक पूर्णरूपमा खर्च गर्न नसकिने भन्दै संशोधन गरिसकेको छ ।

संक्रमणको दोस्रो लहर सुरु भएसँगै सरकारले देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा घोषणा गरेको छ । निषेधाज्ञा सुरु भएदेखि नै देशभर आर्थिक क्रियाकलपहरु धेरै हुन सकेका छैनन् ।

लगातार २ वर्ष कोरोना महामारीको असर झेल्नु परेपछि ठूला करदाताहरुको कारोबार खुम्चिदै गएको छ । यस्तै अग्रिम रूपमा दाखिला गर्दै आएको आयकर पनि घटेको छ । ठूला करदाता कार्यालयका अनुसार करदाताले अग्रिम कर भुक्तानीमा गत वर्षभन्दा ५० प्रतिशतसम्म कम कर दाखिला गरेका छन् ।