
काठमाडौं । हाप्सा नेपाल नामक गैरसरकारी संस्थाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरूलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ ।
संस्थाले होम आइसोलेसनमा बसिरहेका संक्रमितहरूलाई आवश्यक पर्ने औषधि, मास्क, थर्मोमिटर, अक्सिमिटर लगायतका सामाग्री वितरण गरिएको हाप्सा नेपालले जनाएको छ । नगरपालिका र गाँउपालिकासँगको समन्वयमा संक्रमितलाई स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका संस्थापक डा. रामु खरेलले जानकारी दिनुभयो ।
संस्थाले अहिलेसम्म २० वटा पालिकाका संक्रमितहरूलाई स्वास्थ्य सामग्री वितरण गरिसहेको छ । घरमै बसिरहेका हजारौं संक्रमितले अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री र औषधि नपाएको गुनासो आएपछि आफूहरू सामग्री वितरण गर्न थालेको डा. खरेलले बताउनुभयो ।
संक्रमितहरूले प्रयोग गरेको अक्सिमिटर भने संक्रमण मुक्त भएपश्चात नजिकैको स्वास्थ्य चौकीमा दिन आग्रह गरिएको छ । होमआइसोलन किटको हाल माग निकै बढेको भन्दै संस्थापक डा. खरेलले रकम जुटाउन भने गाह्रो भएको बताउनुभयो ।
अभियानमा सहयोग गर्न चाहनेहरूले हाप्सा नेपालको फेसबुक पेज, माछापुच्छ्रे बैंकको खाता नम्बर ०३९००३६३९०००११ वा गोफण्डमीमार्फत पनि सहयोग गर्नसक्ने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्