१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज


0
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दै छ ।

प्रदेश सरकारको हिजो मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नका लागि सिफारिस गरेको थियो ।

अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवं आार्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने, पुराना र अधुरा योजनाको निरन्तरतालाई प्राथमिकतामा राखिएको प्रवक्ता चौधरीले बताउनुभयो ।

विपक्षी दलहरुले नीति तथा कार्यक्रमपछि विनियोजन विधेयक पेश गर्नुपर्नेमा पहिल्यै विनियोजन विधेयक पेश गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सरकार अल्पमतमा परेकाले संसद छलेर अध्यादेशबाट बजेट ल्याउने नियतले नीति तथा कार्यक्रम अगावै विनियोजन विधेयक ल्याइएको विपक्षी दलहरुको आरोप छ ।

राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभाका ८३ जना सांसदमध्ये सत्ता पक्षका उम्मेदवारले ४० मत मात्र पाएका थिए ।

सोही आधारमा विपक्षी दलहरुले अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीको राजीनामा वा बहुमत सिद्ध गर्न विश्वासको मत लिन माग गर्दै आएका छन् ।