६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


धादिङको बेनिघाटरोराङ गाउँपालिकाको चेपाङ गाउँमा भोकमरी सुरु


0
Shares

नवराज छत्कुली

धादिङ । जिल्लाको बेनिघाट रोराङको वडा नं. २, ६ र ८ का चेपाङ परिवार भोकमरीको चपेटामा परेका छन् । केही सातादेखि यहाँका चेपाङ परिवारले साताको २ दिन पनि अन्न खान पाएका छैनन् । चार दिनपछि बल्ल अन्न पेटमा अन्न परेको वडा नं. ८ की सोममायाँ चेपाङले बताउनुभयो ।

छोराछोरीले असाध्यै पिर्न थालेपनि पारिपट्टी गाउँबाट २ मानो पिठो मागेर टाँकी मुन्टासंग ढिँडो खाएको उहाँ बताउनुहुन्छ । सोममायाको श्रीमान् सन्तलाल चेपाङसहित चार छोरी, दुई छोरासहित आठ जनाको परिवार छ । हिँडडुल गर्न सक्नेहरु त जंगलतिर पुगेर आरु र आँप खाएर पनि भुलिन्छन् । डेढ वर्षका छोराको पेट भर्न नसक्दा सोममाया रातभरी सुत्न सक्दिनन् ।

यस क्षेत्रका अधिकांश परिवारले पेटभरी खान पाउँदैनन् । घरमा अन्नपात सकिएदेखि नै टाँकीको मुन्टा, काँचो आँप, आरु खाएर जीवनसँग संर्घष गरिएको छन् । खोरिया खनेर उत्पादन गरेको अन्नपातले मुस्किलले पाँच महिना खान पुग्छ । अन्य समयमा अभाव र भोकसँग जुध्दै आइरहेका छन् । गाउँमा पनि कसैको घरमा अन्न छैन, अब गिठ्ठा त सक्किसक्यो भातखाने कुराको त गाउँलेका लागि सपना नै भइसक्यो ।

उता जिरवाङकी ७३ वर्षिय ठूलीमायाँ चेपाङको पनि व्यथा उस्तै छ । दुई दिनदेखि ठूलीमायाँको पनि पेटमा अन्न परेको छैन । शुक्रबार बिहानको साढे ११ बज्दा अगेनामा आगो फुक्दै हुनुहुन्थ्यो । गाउँ पैंचो पनि पाउन छोडेपछि सँगै बस्ने नाती कमाउन जान्छु भनेर घर छोडेर निस्किए । एक्लै रहेकी ठूलीमायाँ अब कसैले खानेकुरा ल्याइदिने आशमा हुनुहुन्छ ।

श्रीमान बितेपछि कष्टकर जीवन विताउँदै आइरहेकी आँपडाडाकी सुकमाया चेपाङको व्यथा पनि उस्तै छ । दिनभर जंगल चहारेर ल्याएको कन्दमुलले प्राण धानिरहेकी उहाँको घरमा एक हप्ता भयो चुल्हो बलेको छैन ।

सबैको घरमा अन्नपात सकिएकोले ऐंचोपैंचो चलाउने पनि सम्भावना छैन । निषेधाज्ञाका कारण दैनिक ज्यालादारीको काम पनि रोकिएको छ । बारीको उब्जनी पनि सकिएको र काम गर्न पनि नपाएका कारण यस भेगका स्थानीय भोकभोकै परेका हुन् । यसमा सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।