
कैलाली । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोध्नु भएको छ ।
प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो ।
भोलि २६ गते ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिनु भनिएको छ ।
स्पष्टीकरण नदिए वा चित्तबुझ्दो नभए दलको विधान अनुसार कारबाही गर्ने चेतावनी समेत स्पष्टीकरण पत्रमा दिइएको छ ।
एमालेका अध्यक्ष ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।
तर माधवकुमार नेपाल समूहको बहुमत रहेको संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
तीन मन्त्रीले राजीनामा दिए लगतै चार मन्त्री र तीन राज्यमन्त्री लिएर नेपाल समूह प्रदेश सरकारमा कायमै छ ।
मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि एमाले संसदीय दलको बैठक मंगलबार बसेको थियो । बैठकले भट्टको पक्षमा मत दिने निर्णय गरेको थियो ।
बैठकमा ओली पक्षका सांसदहरुले विश्वासको मत दिन नहुने भन्दै फरक मत राख्न चाहे पनि बहुमत पक्षले दिएको थिएन ।
प्रतिक्रिया दिनुहोस्