
प्रकाश नेपाल
इलाम । कोरोना महामारीमा आफ्ना नेता र जनप्रतिनिधिहरुले सहयोग गर्लान् भन्ने आशा पालेका इलामेका नागरिक निराश भएका छन् ।
जनताका समस्यालाई पन्छाएर कोरोना कहरकाबीच पनि राजनीतिक दलहरु सत्ताको स्वार्थमा अलमलिँदा आम नागरिक निराश भएका हुन् ।
कोरोनाको यो महामारीमा नपिरोलिने इलामका नागरिक सायद कमै होलान् । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जिल्लामा बन्दाबन्दी भएसँगै मानिसको दैनिकीमा परिवर्तन भएको छ ।
कोरोनाकै कारण दुई दर्जन बढि नागरिकले ज्यान गुमाई सकेका छन् । सयौ नागरिक कोरोनाका कारण मृत्युसंग लडिरहेका छन् ।
यहि लडाई जित्न यतिबेला उनीहरुले सहयोगी अभिभावक पनि खोजिरहेका छन । तर, तिनै अभिभावकहरु भने तछाड मछाड गर्दै सत्ता र कुर्चीको लुछाचुडिमा लागिरहदा उनीहरुले कतैबाट सान्त्वना पाउन सकेका छैनन् ।
यो समय सत्ता र कुर्ची टिकाउने भन्दापनी अप्ठ्यारोमा परेका जनताको मनमा मलम पट्टि लगाउने समय हो । तर, सरकारले भने काम कुरो एकातिर किुम्लो बोकी अर्केतिर भने झै गरी रहेको इलामेलीहरुको आरोप छ ।
आफूले जिताएका दुबै नेता राष्ट्रिय राजनितिमा हुँदा ठूलै भर थियो यहाँका जनतामाथि । तर, सबै यो अप्ठ्यारो परिस्थितिमा मिथ्या सावित भएको छ ।
इलामबाट झलनाथ खनाल र सुवास नेम्बाङले प्रतिनिधित्व गरेपनि उनीहरु पनि कुर्चीको हानाथापमा छन् ।
खनाल लगातार पाँचपटक सांसद भई प्रधानमन्त्रीसमेत बनिसकेका छन् भने नेम्बाङ पूर्वसभामुख हुन ।
उनीहरुले लगातार प्रतिनिधित्व गरिरहदा गाँउघरमा विकासले फड्को मार्छ र सबै सेवा सुविधा गाँउघरमा नै आउँछ भनेर धेरै सपना बाँडे तर, यो अप्ठ्यो परिस्थितिमासमेत एक पल्टसम्म झुल्किएनन् ।
जनताहरु उपचार नपाएर आकुलव्याकुल छन । विभिन्न सहयोगी संघसंस्थाहरु, समाजसेवी, बुद्धिजिविहरुले सहयोगी हातहरु फैलाइरहँदा सरकार भने आफ्नै गित गाई रहेको स्थानीय निरोज खड्गीको गुनासो छ ।
.
कोरोनाका कारण हरेक क्षेत्र प्रभावित भएको छ । व्यापार व्यवसाय चौपट भएको छ भने दैनिक ज्याला मजदुरी गरेर घर चलाउदै आएकाहरुको पेट भोको हुन थालेको छ ।
राज्यका सबै शक्ति कोरोनाकै नियन्त्रणमा लाग्नुपर्ने बेलामा आपसी भागबन्डा, सत्ता, शक्ति र गुटगत स्वार्थमा तल्लीन हुँदै गर्दा जनताको आशा अपेक्षा र समृद्धिको सपनामाथि भने फेरी पनि कुठाराघात भएको छ ।(भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्