
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताउनुभएको छ ।
बुधबार नेपाल खेलकुद महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने बताउँदै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताउनुभएको हो ।
तामाङले सरकार कोभिड–१९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको बताउनुभयो । खोपको सीमितताले उमेर समूहलाई छुट्याएर लगाउन परिरहेको बताउँदै उहाँले केही दिनभित्रै कोभिडको भ्याक्सिन सम्बन्धी सकारात्मक समाचार आउने जानकारी गराउनुभयो ।
‘पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘तर, अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ उहाँहरूलाई पनि लक्षित गरी खोप लगाउनेछौं ।’
मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासंघले खेलाडी लगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार मात्रा र प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड – १९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।
त्यसैगरी आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्नेगरी व्यवस्था गर्न, पीसीआर परीक्षणलाई सहज र फराकिलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिइ राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासंघले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्