
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।
दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै पुराना महत्वपूर्ण कार्यक्रम र योजनालाई निरन्तरता दिने बागमती प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने प्रावधान छ ।
बागमती प्रदेशमा प्रतिपक्ष दलले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्न नदिने रणनीति बनाएका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ ।
आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
बजेट ल्याउनुभन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष केही ढिलो भएको छ ।
राजनीतिक उत्तारचढावका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ गरेको सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेको थियो ।
संशोधित अध्यादेशमा अगामी नीति तथा कार्यक्रम ल्याउन कुनै समय सीमा राखिएको छैन ।
प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
सरकारले कोरोना नियन्त्रण र प्रदेशमा सञ्चालित पुराना र अपूरा योजनालाई प्रथमिकताका राख्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्