२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


न्यू बुटवल–बर्दघाट सवस्टेशन परीक्षणको अन्तिम चरणमा, एक महिनामा सञ्चालनमा आउने


0
Shares

हरि शर्मा
नवलपरासी । नवलपरासीमा निर्माणाधिन नेपाल विद्युत् प्राधिकरणको न्यू बुटवल सवस्टेशन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

२ सय २० केभी प्रसारण लाइन क्षमताको न्यू बुटवल–बर्दघाट सवस्टेशन परीक्षण र सञ्चालनको काम मात्र बाँकी रहेको छ ।

एशियाली विकास बैंकको सहुलितयपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित भूमहिमा निर्माण भइरहेको २ सय २०-१ सय ३२ केभी.न्यू सवस्टेशनको निर्माण कार्य सन् २०१८ बाट सुरू भएको हो ।

आयोजनाको लागत १ अर्ब रुपैयाँ रहेको छ । भारतबाट प्राविधिकहरु आउन नसक्दा आयोजनाको बाँकी काम अघि बढाउन समस्या भएको छ ।

सवस्टेशनको कार्य अन्तिम चरणमा रहेको र परीक्षण तथा संचालनको काम १ महिनाभित्र पूरा गर्ने गरी कामलाई अघि बढाएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणकै कालीगण्डकी प्रशारण कोरिडोर आयोजनाको कुश्मा न्यू बुटवल २ सय २० के.भी.डबल सर्किट प्रशारण लाईन मार्फत उत्पादन हुने विद्युत यस स्टेशनसम्म आउने छ ।

हाल उक्त प्रशारण लाइन निर्माण सम्पन्न भई नसकेको र जिल्लामा विद्युतको स्रोत कम भएकाले हाल रहेको राष्ट्रिय प्रसारण लाईनमा जोडर विद्युत वितरण गरिने छ । यसले विद्युत आपुर्तिलाई पूरा गर्ने आयोजना प्रमुख मिश्रको भनाई छ ।

यस्तै आयोजनाद्धारा न्यू बुटवल सवस्टेशनदेखि बर्दघाटसम्म निर्माण हुने करिब २१ कि.मि.को २ सय २० के.भी.डबल सर्किट प्रसारण लाईनको निर्माण कार्य समेत सुरु भइसकेको छ ।

यो प्रसारण लाइन जिल्लाको सुनवल नगरपालिका, सरावल गाउँपालिका हुँदै बर्दघाट नगरपालिका–५स्थित भरतपुर बर्दघाट २ सय २० के.भी.प्रसारण लाईनमा जोडिने छ ।

करिब ६४ करोड रुपैंया लागत रहेको यस प्रसारण लाईनको निर्माण एक वर्षभित्र सम्पन्न गरिने लक्ष्य छ । सवस्टेशनले विद्युत प्रसारण गर्न थालेपछि सबैभन्दा बढी यस क्षेत्रका उद्योगिहरु लाभान्वित हुने उद्योग वाणिज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरीले बताउनुभयो ।

यो प्रशारण लाईन तथा सवस्टेशन आयोजना नेपाल सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हो ।

सवस्टेशनबाट प्रसारण हुने विद्युतले ठूला उद्योगहरु मात्र होइन आम विद्युत उपभोक्ताहरु समेत लाभान्वित हुने देखिएको छ । (भिडियो हेर्नुहोस्)