
बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मनौराका ३५ वर्षिय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मनौराका २२ वर्षीय बलजित पासी, सोही स्थानका ३० वर्षीय दुर्गेश पासजान, २४ वर्षीय राकेश यादव, २० वर्षीय संजय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।
गत जेठ २३ गते बिहान साढे ६ बजे लु.स.न.पा.–४ स्थित मनौरा बन्दरगढबाट महेन्द्र यादवको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक रबिन्द्र महतको कमाण्डमा खटिएको टोली घटनास्थल पुग्दा मृतकको टाउको, छाती, घाटी र गुप्ताङ्गमा धारिलो हतियार प्रहार गरी घाउ चोट लागि अनुहार र टाउको समेतको भाग रगतले लतपतिएको अवस्थामा शव फेला परेको थियो ।
आरोपितहरूले पुरानो रिसइबीको बदला लिने सोचका कारण योजनाबद्ध रूपले महेन्द्र यादवलाई उनकै गाउँमा हत्या गरी खेतमा लगि फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो । चन्दका अनुसार यादवको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको थियो ।
जेठ २५ गते मंगलबार पक्राउ गरिएको पाँच जना प्रतिवादीलाई बुधबार रुपन्देही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको उनले जानकारी दिनुभयो । हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) १ थान, पानी तान्ने चापाकलको ह्याण्डर (हत्ता) १ थान र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा १ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्