१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकी प्रदेशसभाको लोगोबाट चुच्चे नक्सा गायब, के भन्छ संसद् सचिवालय ?


0
Shares

काठमाडौं । गण्डकी प्रदेशसभाको आठौं अधिवेशनको चालु बैठकमा प्रदेशसभाको लोगोबाट चुच्चे नक्सा हटाइएको छ ।

नक्सा प्रयोगका लागि संविधान संशोधन गरिएको एक वर्ष बिते पनि गण्डकी प्रदेशसभामा भने अझै पनि चुच्चे नक्सा प्रयोग गरिएको छैन । गतवर्ष जेठ ७ गते सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा सार्वजनिक गर्दै जेठ ३१ गते संविधान संशोधन गरी निशान छापमा समेत प्रयोग गरेको थियो ।

नयाँ नक्सा प्रकाशन र संविधान संशोधनपछि प्रतिनिधिसभा, राष्ट्रियसभा मात्र नभइ देशका हरेक सरकारी कार्यालयमा चुच्चे नक्सा प्रयोग हुन थालिसकेको छ । तर, गण्डकी प्रदेशसभाले भने नक्सा सार्वजनिक भएको वर्ष दिन बितिसक्दा पनि पुरानै नक्सा प्रयोगमा ल्याएको छ ।

संसद सचिवालयले प्रदेशसभाको युट्युब च्यानल, प्रदेशसभाका बैठकहरू प्रसारण हुने भिडियोमा त प्रयोग गरेको छैन नै, सांसदहरू उभिएर बोल्ने पोडियममा समेत पूरानै नक्साअंकित लोगो प्रयोग गरिरहेको छ । यद्यपि प्रदेशसभा भवनको सभामुख बस्ने दुईतर्फ भने चुच्चे नक्सासहितको लोगो राखिएको छ ।

२०७८ वैशाख १३ गते नदीपूरमा रहेको संसद भवनमा राखिएको नयाँ लोगो, यद्यपि यसमा पनि लाइभ भिडियोमा प्रयोग हुने लागोमा भने पूरानै नक्सा प्रयोग भएको छ ।

यस विषयमा बुझ्दा प्रदेशसभा सचिवालयले सुरुमा नयाँ लोगो नै प्रयोग भएको दावी गरेको थियो । यद्यपि पछि भने प्रदेशसभा स्थल परिवर्तन भएकाले नयाँ लोगो प्रयोग गर्न समस्या भएको जवाफ दिएको छ ।

प्रदेश सभा नदीपूरमा बस्ने र कोभिड संक्रमणको जोखिम कारण पोखरा सभाहलमा बसेकाले व्यवस्थापकीय त्रुटी भएको हुनसक्ने संसद सचिवालयकी सूचना अधिकारी एवं उपसचिव सपना अधिकारीले स्वीकार गर्नुभयो ।

२०७८ वैशाख १३ गते नदीपूरमा रहेको संसद भवनमा रहेकाे पाेडियममा पनि पुरानै नक्साअंकित लाेगाे प्रयाेग भएकाे छ ।

‘हामीले लोगो राखेका थियौ, विशेष अधिवेशन र बजेट अधिवेशनको बीचमा कसैले झिक्यो होला, त्यसतर्फ हामी कसैको पनि ध्यान गएन,’ उहाँले भन्नुभयो, ‘सदन सकिएपछि हामीले एकपटक पुनः परीक्षण गर्नेछौं ।’

जनताका प्रतिनिधिहरू बस्ने थलोमा विगत १ वर्षदेखि पूरानै नक्सा प्रयोग हुँदा समेत कसैको ध्यान नजानु आफैँमा दुःखको विषय हो । यद्यपि ढिलै भएपनि संसद सचिवालयले आफ्नो गल्ती महसुस गर्दै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसलाई भने सुःखद् नै मान्नुपर्छ ।