
प्रज्ञा तिमल्सीना
काठमाडौं । नेपालमा गत वर्ष फैलिएको कोभिड–१९ को पहिलो लहरको तुलनामा हाल फैलिरहेको दोस्रो लहरमा धेरै बालबालिका संक्रमित भएका छन् । हाल दिनहुँ १० वर्ष मुनिका एक सयभन्दा धेरै बालबालिका संक्रमित हुने गरेका छन् भने २० वर्षसम्मका करिब ५ सय संक्रमित हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
संक्रमणका कारण १० वर्षमुनिका र ११ देखि २० मुनिका ३७–३७ जना बालबालिकाको मृत्यु भइसकेको छ । हालसम्म १० वर्ष मुनिका १४ हजार ४८ जना बालबालिका संक्रमित हुँदा ११ देखि २० वर्षसम्मका ४० हजार ६ सय ७० जना संक्रमित भइसकेका छन् ।
तेस्रो र चौथो लहरमा बालबालिकामा संक्रमणको जोखिम उच्च रहने भन्दै मन्त्रालयले सचेत गराएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने दर कम भएकाले पनि बालबालिकाहरूमा संक्रमण्को जोखिम बढी हुने मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउनुहुन्छ ।
मन्त्रालयले प्रत्येक सरकारी अस्पताललाई कुल शय्याको २० प्रतिशत शय्या बालबालिकालाई छुट्टाउन निर्देशन समेत दिइसकेको छ । जसमा केही अस्पतालले शय्या छुट्याउन समेत सुरु गरिसकेको जनाएका छन् ।
देशको एक मात्र बाल अस्पताल कान्ति बाल अस्पतालमा ५६ वटा आईसीयू र २५ वटा एचडियू रहेका छन् । बालबालिका र बढी उमेर भएका व्यक्तिसमा देखिने लक्षण उस्तै–उस्तै नै हुन्छन् तर स्वास्थ्य अवस्थामा समस्या भएमा उनीहरूलाई छुट्टै हेरविचार चाहिने कान्ति बाल अस्पतालका चिकित्सक डा. आरपी विच्छा बताउनुहुन्छ ।
बालबालिकाको उपचारका लागि क्रिटिकल केयरमा छुट्टै चिकित्सक आवश्यक पर्छ । तर मन्त्राल भने आफूहरूसँग बालबालिकाका लागि आवश्यक विशिष्टीकृत जनशक्ति नभएको बताउँछ । जनशक्ति नभए पनि अन्य क्षेत्रका स्वास्थ्यकर्मीहरूलाई विशिष्टीकृत तालिम दिएर बालबालिकको सघन उपचारका लागि प्रयोग गर्दै लैजा सकिने मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारी बताउनुहुन्छ ।
सबै तिर बाल अस्पताल बनाउन सम्भव नभएको बताउँदै डा. अधिकारीले धेरै ठूलो क्षमतामा अस्पतालसँग बालबालिकाको उपचारका लागि प्रयोग हुने स्वास्थ्य सामग्री र जनशक्ति नभएको स्वीकार गर्नुभयो ।
देशभर ३ सय माथि बालचिकित्सक रहेका छन् । अब आउने संक्रमणको लहरबाट बालबालिकालाई बचाउन मन्त्रालयले अग्रिम तयारीमा जुटेको बताए पनि सो अनुसारको व्यवस्थापन भने सबै पक्षले बराबरी रूपमा गर्न आवश्यक छ । दोस्रो लहरमा शय्या, अक्सिजन र सामान्य उपचारको अभावमा नै ज्यान गुमाउनु परेको अवस्थाबाट पाठ सिकेर थप तयारी बढाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्