१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


मन्त्रालय भन्छ, ‘अहिलेकै अवस्थामा निषेधाज्ञा खुकुलो बनाउनु घातक’


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले हाल जारी निषेधाज्ञा खुकुलो बनाउने अवस्था नरहेको जनाएको छ ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न डेढ महिनादेखि लगाइरहेको निषेधाज्ञा केही सहज गराउँदै लैजाने छलफल भइरहेको बेला स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा सहज बनाउने बेला भइनसकेको जनाएको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले दिनहुँ परीक्षण गरिएका मध्ये २५ देखि ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिएकाले अहिले नै निषेधाज्ञा खुकुलो बनाउन नहुने बताउनुभयो ।

‘संक्रमणदर अत्यन्तै न्यून भएपछि मात्र दैनिकीलाई सहज बनाउनुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘संक्रमणदर न्यून भएपछि ठाउँअनुसार खुकुलो बनाउँदै जान सकिन्छ तर अहिले नै खुकुलो बनाउने बेला भएको छैन ।’

धेरै गाह्रो अवस्था नआओस् भन्नका लागि तत्कालको गाह्रो अवस्थालाई सबै मिलेर सहनुपर्ने उहाँको भनाइ छ ।

गृह मन्त्रालयसम्बद्ध अधिकारीहरूले भने संक्रमणदर कम भइरहेको भन्दै निषेधाज्ञालाई केही खुकुलो बनाउने विषयमा छलफल थालेका छन् ।