१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रामारोशन गोलीकाण्ड : उच्च ओहदाकै व्यक्तिको संलग्नता देखिएपछि प्रहरीद्वारा फाइल बन्द


0
Shares

अछाम । नेकपा माओवादी केन्द्रबाट निर्वाचित रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउदमाथि गोली प्रहार भएको प्रसंगमा प्रहरीले मौनता साँधेको पाइन्छ । झण्डै दुई वर्ष अघि २०७६ भदौ ३० गते अध्यक्ष साउदमाथि गोली प्रहार गरिएको थियो । तर, घटना दुई वर्षसम्म गुपचुप राखिएको छ ।

गुपचुप हुनुले जनमानसले घटनाको बारेमा अनेक अड्कल काट्न थालेका छन् । अध्यक्ष साउदले गाउँपालिकामा भएको भ्रष्टाचार लुकाउन आफैँले आफैँलाई गोली प्रहार गराएको आशंका गरेका छन् भने केहीले अध्यक्षसँग आर्थिक बार्गेनिङ गरेकाहरूले आक्रमण गरेको हुनसक्ने अनुमान गरेका छन् । तर, तथ्य भने फरक छ ।

अनुसन्धानका क्रममा फेला परेको तथ्यहरूले तत्कालिन विद्रोही पार्टी विप्लव नेकपामाथि मात्र होइन सत्ताधारी दलमाथि नै शंका गर्न सकिने तथ्यहरू सार्वजनिक भएको स्रोतले जनाएको छ । घटना सार्वजनिक गर्न खोज्दा प्रहरीमाथि उच्च ओहदाबाट दवाव आएको थियो । यद्यपि, जिल्ला प्रहरी कार्यालय अछामले भने अनुसन्धानबारे धेरै विषय बोल्न नमिल्ने भन्दै पन्छिएको पाइन्छ ।

‘घटना अनुसन्धानमै रहेकाले धेरै बोल्न मिल्दैन, हामी करिब–करिब नजिकै छौं,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जनकबहादुर बोहराले भन्नुभयो, ‘लामो समय रोकिएको फाइललाई आवश्यक देखिएको खण्डमा हामीले नै अघि बढाउन सक्छौं ।’ बोहराका अनुसार बाजुरामा विष्फोटक मुद्दामा एकजना पक्राउ परेका थिए ।

बाजुरामा पक्राउ परेका व्यक्ति नै घटनाको दोषी भएको र राजनीतिक दवावमा उसलाई छाड्न दवाव आएको स्रोतको दावी छ । उच्च ओहदाका राजनीतिक व्यक्ति नै संलग्न भएकाले प्रहरीले घटना गुपचुप राख्न खोजेको स्रोतले बताएको छ ।

‘प्रहरी नै घटना दबाउन खोजिरहेको छ, घटनास्थलमा भेटिएको मोबाइलका कल डिटेल हेर्दा धेरै तथ्य प्रष्ट भएका थिए,’ स्रोतले भन्यो, ‘तर, माथिबाट दबाब आएपछि मुद्दा थन्काउनु परेको थियो ।’ स्रोतका अनुसार तीन राजनीतिक दलका आठ स्थानीय नेतासमेत अनुसन्धानमा तानिन सक्ने खतराले घटना दबाउन खोजिएको हो ।

यता, गाउँपालिका अध्यक्ष साउदले भने ज्यानै लिने गरी भएको आक्रमणलाई प्रहरी र पार्टीले सामान्य रूपमा लिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । अनुसन्धान कसको दबाबमा रोकियो भन्ने आफूलाई जानकारी नभएको बताउँदै उहाँले घटना दबाउन खोजेको जिकिर गर्नुभयो ।

‘मलाई गोली चलाएको विषयमा अनुसन्धान गर्न प्रहरीलाई दवावसमेत नदिँदा म माथि अन्याय भएको छ,’ उहाँले भन्नुभयो, ‘आफ्नै पार्टीका साथीहरूले तिललाई पहाड बनाए, गोलीकाण्ड समेत अध्यक्षले चलाउन लगाएको भन्दै ठूलो समूहले मविरुद्ध दुष्प्रचार गर्यो ।’