१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले एकताले सार्थकता पाएन, दुवै पक्ष एकअर्कालाई एकता विरोधीसिद्ध गर्न तल्लीन


0
Shares

एलबी विश्वकर्मा
काठमाडौं । नेकपा एमाले अहिले न एकता न विभाजनको अवस्थामा छ । अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल–झलनाथ खनाल दुवै समूहले आफूलाई पार्टी एकताको पक्षमा रहेको दाबी गरिरहे पनि सार्थक परिणाम आउन सकेको छैन ।

सर्वोच्च अदालतको फैसलापछि ब्यूँतिएको एमाले कानुनी नभए पनि भावनात्मक रूपमा विभाजित छ । ओली र नेपाल–खनालसमूहका दोस्रो तहका नेताहरू एकताको लागि भन्दै अहिले पनि दिनहुँ औपचारिक र अनौपचारिक छलफलमा जुटिरहेका छन् । नेपाल समूहका नेता ठाकुर गैरै पार्टी एकताको विकल्प नभएको बताउनु हुन्छ ।

पार्टी एकताका सवालमा ओली समुहमै मतान्तर देखिन्छ । प्रधानमन्त्रीका विश्वास पात्र गोकुल बाँस्कोटाका अनुसार ओली समूह एकताको मूडमा देखिँदैन । अर्कोथरी नेताहरू भने प्रधानमन्त्रीले पार्टी एकता चाहँदा पनि वरिष्ठ नेता नेपालका कारण एकता भाँडिएको टिप्पणी गर्छन् ।

नेता बाँस्कोटाको टिप्पणी खण्डन गर्दै खनाल–नेपाल समूहका नेता ठाकुर गैरे भने नेकपा विभाजन, संसद् विघटनको विषयमा गम्भीर बहस आवश्यक भएको बताउँछन् ।

माधव–खनाल समूह पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा लैजानु पर्ने अडानमा छ । सर्वोच्च अदालतले पनि एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैध मान्न नसकिने फैसला गरिसकेको छ ।

सर्वोच्चको फैसलाले दुवै समूहलाई सहमतिका लागि नजिक पुर्‍याउने ठानिएको बेला ओली पक्षले फैसलाविरुद्व पुनरावलोकनमा जाने बताइरहेकाले एमाले एकता फेरि पनि कठिन देखिन्छ ।