
काठमाडौं । सरकारले नविकरणीय उर्जाको प्रयोगलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिएको छ ।
प्राक्टिकल एक्सनले आज काठमाडौमा गरेको उर्जा विषयक प्रदर्शनीमा नाष्टका प्रविधि संयोजक प्रमुख रविन्द्र ढकालले प्रविधिको विकासबाट नविकरणीय उर्जाको प्रयोग बढाउन सकिने बताए ।
उर्जाको प्रयोगबाट वातावरणमा अनुकुल सुधार गर्न सकिने भन्दै सरकारले उर्जालाई ग्रामीणमुखि बनाउनु पर्नेमा जोड दिए । उनले प्रविधिको आयात नभई आफ्नै देशबाट प्रविधिको विकास गर्न सके दिगो हुने बताए ।
उनले उर्जाबाट स्वस्थ परिवारकालागि आधुनिक चुलो, विद्युतीय चुलो प्रयोग गर्न सके घरभित्र हुने धुवाँबाट लाग्ने रोगबाट बच्न सकिने बताए । नेपालमा अझै पनि ७५ प्रतिशत भन्दा बढी जनसंख्याले खाना पकाउन दाउराको प्रयोग गर्ने गरेका छन् उनले भने,”उर्जाको खपत बढ्दै गएको र नेपालका ग्रामिण क्षेत्रमा प्रभावकारी भएको छ ।”
कार्यक्रममा नविकरणीय उर्जाबाट देखिने प्रत्यक्ष फाइदा र यसको प्रयोग विधिको बारेमा जानकारी गराइएको थियो । प्रदर्शनिमा नविकरणीय उर्जा प्रविधि, विद्युतीय चुलो, सौर्य उर्जालगायतका स्टल राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्