
भरत शर्मा
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै ठूलो क्षमताको शीत भण्डार निर्माण भई सञ्चालनमा आएको छ । रामपुर नगरपालिकामा निर्माण भएको शीत भण्डार लुम्बिनी प्रदेश सरकार र रामपुर नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो । ३ सय मेट्रिक टन क्षमताको शित भण्डार संचालनमा आएपछि रामपुर क्षेत्रका कृषकहरु खुशी भएका छन् ।
रामपुर क्षेत्रमा प्रशस्त मात्रा उत्पादन हुने आलु भण्डारणका लागि स्याङ्जा तथा रुपन्देहीमा लैजानु पर्ने बाध्यता हटेको कृषक युवराज अधिकारीको भनाइ छ । शीतभण्डारमा पाँच वटा च्याम्वर रहेकोमा हाल ३ वटा च्याम्वर संचालनमा आएको र दुईटा आउँदो श्रावण देखि संचालन हुने रामपुर नगरपालिकाले जनाएको छ ।
शीत भण्डार रविना अभिषा जेभी काठमाडौले ३ करोड २६ लाख ७६ हजार ५ सय ६७ रुपैयाँमा सम्झौता गरी निर्माण गरेको हो । रामपुर नगरपालिकाले वडा वडामा आलु, केरा पकेट क्षेत्र घोषणा गरी उत्पादन बढाएको छ । यस बर्ष मात्र रामपुरमा करीव १२ लाख किलो आलु उत्पादन भएको छ । शीत भण्डार संचालनले रामपुर क्षेत्रमा कृषि उत्पादनमा वृद्धि हुने रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा बताउँनु हुन्छ ।
शीत भण्डारण केन्द्रमा अहिले रामपुर नगरका कृषकहरुले विभिन्न किसिमका विउ तथा आलु भण्डारण गर्दै आएका छन् । नगरपालिकाले दररेट निर्धारण गरी बैशाखदेखि शीत भण्डार संचालन ल्याएको हो । कृषकहरुसँग प्रतिकेजी न्युनतम एक रुपैयादेखि ६ रुपैयासम्म शुल्क तोकिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेले बताउनु भयो ।
कृषि उत्पादन बढी हुँदा र उत्पादनको खपत बजारमा कम हुँदा शीत भण्डारमा भण्डारण गरे पछि विक्री गर्न सकिने भएकाले पुर्वी पाल्पाका कृषकहरु खुशी भएका हुन् । पाल्पाका अन्य स्थानीय सरकारले पनि प्रदेश सरकारको सहयोगमा शीत भण्डार निर्माण कार्यलाई तिव्रता दिएका छन् । हाल रम्भा, रिव्दीकोट, तिनाउँ गाउँपालिकामा शीत भण्डार निर्माणको काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्