
सुरेन्द्र भण्डारी
झापा । बिगत लामो समयदेखि झापाको बिर्तामोडमा व्यवसाय सञ्चालन गर्दै आउनु भएका ओमप्रकाश लुईटेलको दैनिकी अहिले फेरिएको छ । बिश्वभर फैलिएको कोरोना भाइरसको प्रभावले झापामा व्यवपार – व्यवसाय ठप्प हुँदा विहान सबेरैदेखि राति अबेरसम्म पसलमा व्यस्त रहने लुईँटेल अहिले भने मानवीय सेवामा लाग्नु भएको छ ।
‘भोकालाई खाना र नाङ्गालाई नाना’मा मात्र सिमित छैन लुईटेलको मानवीय सेवा । नयाँ भेरियन्टको कोरोना संक्रमणका कारण रगतको चरम अभाव भएपछि लुईटेलले झापामा रक्तदान गर्ने अभियान नै सञ्चालन गर्नु भएको छ । आफूले समेत ७६ औं पटक रक्तदान गरिसक्नु भएका लुईटेलले अहिले झापाका विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्दै मानवीय सेवामा तल्लीन हुनुहुन्छ ।
हरेक तीन– तीन महिनामा रक्तदन गर्दै आउनु भएका लुईटेल पछिल्लो समय झापामा बढी नै रगतको माग हुन थालेपछि श्रीमती दुर्गालाई पनि संगै रक्तदान कार्यक्रममा सहभागी गराउनुहुन्छ । महिलालाई पनि रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यले प्रायजसो ठाउँमा श्रीमती दुर्गालाई पनि लुईटेलले संगै लैजानु हुन्छ । रक्तदान गर्ने अधिकांश ठाउँमा लुईटेलका श्रीमान् श्रीमती दुवै जनाले एकै पटक रक्तदान गर्दै आउनु भएको दृष्य देखिन्छ ।
अहिलेपनि झापामा ‘ए’ पोजेटिभ रगतको अभाव छ । रगतकै अभाव टार्न सामाजिक अभियन्ता लुईटेलकै पहलमा झापाका धेरै ठाउँमा रक्तदान कार्यक्रमको आयोजना हुँदै आएको नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका रक्तसञ्चार प्राविधिक सचिन लिम्बूले बताउनुभयो ।
झापामा वार्षिक १६ हजार पाउण्ड भन्दा बढी रगत खपत हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापाको तथ्याङ्कमा उल्लेख छ । दमक, भद्रपुर र बिर्तामोडमा गरी जिल्लामा तीन वटा ठूला व्लड वैंक र ३ रक्तसञ्चार युनिट भएपनि विरामीका लागि चिकित्सकले ‘फ्रेस ब्लड’ खोज्दा रगतको अभाव हुने गरेको बताइन्छ । यस्तो अवस्थामा समेत सामाजिक अभियन्ता लुइँटेलले रक्तदान गर्ने मानिसको खोजी गर्दै तत्काल अस्पतालसम्म लाने गर्नु भएको छ । जसका कारण लुइँटेलको लोकप्रियता झापामा मात्र सिमित छैन पूर्वमै छाएको छ ।
प्रतिक्रिया दिनुहोस्