
लक्ष्मीप्रसाद सापकोटा
पर्वत । पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अझै खुल्न सकेको छैन । गएराति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मंगलबार थप पहिरो झरेको छ ।
कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर रोकिएको सडक १८ घण्टासम्म पनि खुलाउन सकिएको छैन । दिनभरी निरन्तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ ।
सहस्रधारामा सडक बन्द भएपछि सवारीहरू पाङ हुँदै खुर्कोट निस्किएर आवातजावत गर्न थालेका छन् । दिनभरी वर्षा जारी रहेकोले कालीगण्डकी करिडोरमा पनि निरन्तर पहिरो खसिरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध छ । प्रहरीले दिउँसो खुलाएको सडक दिउँसो फेरि पहिरो झरेर अवरुद्ध भएको अधिकारीले जानकारी दिनुभयो ।
जिल्लाका मुख्य सडकसँगै अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन् । हुवास–वालिङ सडक, फलेवास– रानीपानी सडक, लमाय– लुँखु सडक, पातीचौर– देउराली सडक पनि पहिरोले रोकिएका छन् । जलजला गाउँपालिकाका अधिकांश सडक अवरुद्ध भएका छन् ।
सडक बन्द हुँदा एम्बुलेन्स, खाद्यान्न ढुवानी गर्ने सवारी, निर्माण सामाग्री बोकेका ट्रक बीच बाटोमै रोकिएका छन् । पहिरोका कारण भत्किएका र अवरुद्ध भएका सडक खुलाउन वर्षाका कारण समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । सडकसँगै बस्तीमा पनि पहिरो आउने खतरा रहेकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्