१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीपी प्रतिष्ठानमा भएको भ्रष्टाचारको उच्चस्तरीय छानबिन गर्न माग


0
Shares

रत्न आचार्य
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको उच्चस्तरीय समिति गठन गरी छानबिन गर्न चिकित्सक र कर्मचारीले माग गरेका छन् ।

प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ती लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रधानमन्त्रीसमक्ष छानबिनको माग गरेका छन् ।

प्रतिष्ठानका पदाधिकारीहरू आर्थिक अनियमिततामा संलग्न हुन थालेपछि प्रतिष्ठान आर्थिक संकटमा परेको भन्दै चिकित्सक र कर्मचारीहरुले प्रतिष्ठान सुधारको माग गर्दै तीनदेखि आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरूले चालेको आन्दोलनमा प्रतिष्ठानका कर्मचारीहरूले समेत समर्थन जनाएपश्चात बिहीबारदेखि आन्दोलन झन् चर्को भएको छ ।

आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रतिष्ठान सुधारको माग गर्दै बिहीबार धरान बजारमा विरोध प्रदर्शन गरेका हुन् । प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको आगमनपछि बेथिती बढेको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । प्रतिष्ठानमा भएको सबै आर्थिक अनियमितताका घटनाको छानबिन गरी दोषीउपर कडा कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी चिकिच्सकहरूले दिएका छन् ।

प्रतिष्ठानको फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पखरेलले प्रतिष्ठानमा भएको भष्ट्राचारको उच्चस्तरीय समिति गठन गरी छानबिन गर्न प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीसमक्ष माग गर्नुभएको छ । उहाँले यसअघि प्रतिष्ठानमा भ्रष्टाचार गरेर अख्तियारले कारबाही गरेका पूर्वपदाधिकारीहरू पनि प्रतिष्ठानको सेवासुविधा लिइरहेको भन्दै विरोध जनाउनु भएको थियो ।

राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारीले सही ढङ्गले सञ्चालन गर्न नसकेकाले प्रतिष्ठानको भविष्यमाथि नै प्रश्न उठेको सोसाइटीका महासचिव डा. सूर्यप्रसाद रिमालले बताउनुभयो । प्रतिष्ठानमा भएको भ्रष्टाचारको विरोध गर्दा उपकुलपतिले डा. गिरीले उल्टै चिकित्सक र कर्मचारीलाई धम्की दिँदै अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।