
राजेश जिसी
प्यूठान । चार दिन अघि ढलान गरिएको ऐरावती र अर्घाखाँची चेउ खोला जोड्ने निर्माणधीन पक्की पुल भत्किएको छ । लगातारको वर्षापछि झिमरुक नदीमा आएको बाढीका कारण पुल भत्किएको स्थानीयवासीले बताएका छन् ।
पुलका पिल्लरहरू पानीको बहावले बगाएपछि पुल भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर अरुण केसीले जानकारी दिनुभयो । पुलको ३५ मिटरको स्ल्याब भाँचिएर नदीमा खसेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा अमर कन्ट्रक्सन प्रा.लिलाई ठेक्का सम्झौता गरी पुल निर्माणको जिम्मा दिइएको थियो । आगामी असार २८ गतेभित्र पुल निर्माणको म्याद सकिँदैछ ।
संघिय सरकारबाट विनियोजित सात करोड १२ लाख रुपैयाँमा सम्झौता भएको डबल स्पानको ११ मिटर चौडाइ र ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्