१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती सरकारले सञ्चारमाध्यमलाई साथसाथै लिएर हिड्न चाहेको छ– मन्त्री पाण्डे


0
Shares

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले बागमती प्रदेश सरकारले सञ्चार माध्यमलाई साथसाथै लिएर हिड्न चाहेको बताउनुभएको छ ।

शनिबार राष्ट्रिय टेलिभिजन प्रसारक संघको आयोजनामा बोल्दै मन्त्री पाण्डेले बागमती प्रदेश सरकार मिडियाको साथमै हिँडिरहेको र आगामी दिनमा पनि मिडियाको साथमै हिड्न चाहेको बताउनुभएको हो । उहाँले देशको राजनीतिक परिवर्तनमा राजनीतिकर्मीहरूसँगै सञ्चार क्षेत्रको भूमिका पनि उत्तिकै रहेको भन्दै पत्रकारहरूको सो भूमिकालाई अवमुल्यन नगर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले प्रदेश सरकारको तर्फबाट पुराना तथा नयाँ पत्रकारहरूलाई आवश्यकता अनुसारको पत्रकारिकताको तालिमको व्यवस्था गर्ने पनि प्रतिबद्धता गर्नुभयो । प्रदेश सरकारले पत्रकारितामा आउन चाहाने युवापुस्तालाई प्रोत्साहित गर्ने उहाँको भनाइ छ ।

प्रदेश सरकारले ठूलो सञ्चारग्रामको कल्पना गरेको र त्यसको स्थापनाको निम्ति जग्गा प्राप्ति गर्न अघिल्लो वर्ष देखिनै लागिएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । पत्रकारहरूलाई भ्रमणको व्यवस्था गरेर सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने डकुमेन्ट्री बनाउँदै, सो डकुमेन्ट्री किनिदिने व्यवस्था मिलाइने पनि उहाँको भनाइ छ ।

त्यस्तै कोभिड–१९ महामारीसँग सम्बन्धित रहेर पत्रकारहरूलाई फेलोसिप प्रदान गरिने मन्त्री पाण्डेको प्रतिबद्धता छ । पत्रकारहरुको हकमा संघीय सरकारले दिएको जति सुविधा प्रदेश सरकारले पनि दिनुपर्ने कुरामा आफू सहमत रहेको उहाँले बताउनुभयो ।