
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालले पाउने वैदेशिक सहायता प्रतिवद्धताको रकम ३५ प्रतिशतले वृद्धि भएको छ ।
तर वास्तविक वैदेशिक सहायता रकम भने घटेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को वैशाख मसान्तसम्ममा नेपालले पाउने कुल वैदेशिक सहायता प्रतिवद्धता गत वर्षको तुलनामा ३५ ले बढेर २ खर्ब २ अर्ब २८ अर्ब रुपैयाँ बराबर पुगेको छ ।
तर नेपालले प्राप्त गरेको वास्तविक वैदेशिक सहायता भने ८१ अर्ब ४३ करोडमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १ खर्ब ३९ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता पाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
गत वर्षको तुलनामा यस वर्षको वैदेशिक सहायता प्रतिवद्धता ३५ दशमलव ३ प्रतिशतले बढी हो । नेपालले हालसम्म पाएको वैदेशिक सहायता प्रतिवद्धतामा द्विपक्षीय प्रतिवद्धताको हिस्सा १४ दशमलव ३ प्रतिशत र बहुपक्षीय प्रतिवद्धताको हिस्सा ८५ दशमलव ७ प्रतिशत बराबर रहेको छ ।
कुल वैदेशिक सहायता प्रतिवद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६ दशमलव ७ प्रतिशत, उर्जा क्षेत्रमा २२ दशमलव ९ प्रतिशत र बजेटरी सहायताको रुपमा ११ दशमलव ७ प्रतिशत रहेको छ ।
गत वैशाख मसान्तसम्ममा नेपालले १४ अर्ब ३३ करोड रुपैयाँ बराबर अनुदान र ६७ अर्ब १० करोड रुपैयाँ ऋण गरी ८१ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता पाएको छ ।
यो अवधिमा सरकारले आन्तरिक ऋण भने १ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबर उठाएको मन्त्रालयल जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्