
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दाबी गरेका दोस्रो तहका तीन नेताबीच छलफल भएको छ ।
कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको हो । निधिनिवास मध्यबानेश्वरमा भएको छलफलमा पार्टीको आगामी महाधिवेशनमा उम्मेदवारीको सन्दर्भमा छलफल भएको निधिनिकट स्रोतले ईमेजखबरलाई बतायो ।

भेटमा पाँचवटा विषयमा छलफल भएको छ । देशभर कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारलाई खबरदारी गर्ने, सिन्धुपाल्चोक लगायत देशभरको आएको बाढी र पहिरोबाट प्रभावितहरूलाई राहत, पुनःस्थापना र गासबासका लागि सरकारसमक्ष पहल गर्ने, पार्टीको १४औं महाधिवेशन र त्यसमा आफ्ना उम्मेदवारीको विषयमा छलफल भएको निधिनिकट स्रोतले जानकारी दियो ।
यस्तै, छलफलमा आगामी निर्वाचनमा कांग्रेसको जित, गठबन्धनको तर्फबाट देउवालाई प्रधानमन्त्री बनाउन जोडतोडले लाग्ने विषयमा गठबन्धनका सबैबीच साझा धारणा बनाएर अघि बढ्ने विषय समेत समेटिएको हो ।
साथै आफूहरूबीच भएको संवादको विषयमा नेता कृष्णप्रसाद सिटौला, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई जानकारी दिने पनि छलफल भएको स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्