
किरण थापा
सिन्धुपाल्चोक । ट्राउट माछाको लागि प्रख्यात हेलम्बु क्षेत्र बगर बनेको छ । मेलम्ची खोलाको पहिचान बनेको ट्राउट माछा फार्मले हेलम्बुमा पर्यटन पवर्द्धन गराउनसमेत ठूलो मद्दत गरेको थियो ।
हेलम्बुदेखि मेलम्चीसम्म फैलिएर रहेका माछा फार्ममा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गर्थ्यो । व्यवसायीहरूले आफूहरूलाई सोही पेशामा फर्कनका लागि सहयोग मागेका छन् । असार १ गते आएको बाढीले जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । सोही क्रममा सात वटा ट्राउन माछा फार्म र रिसोर्ट बगाउँदा अर्बौंको क्षति भएको छ ।

हेलम्बु गाउँपालिका किउलका भण्डारी ट्राउटका सञ्चालक उत्तममणि भण्डारीले आठ वर्षदेखि खेतीयोग्य जमिनमा नौ करोड लगानीमा रेन्बोे ट्राउट जातको माछापालन व्यवसाय गर्दै आउनुभएको थियो । मासिक ७० लाख रुपैयाँको कारोबार गर्दै आउनुभएका उहाँको व्यवसाय असार १ मा आएको बाढीले एकैछिनमा बगर बनाइदियो ।
‘बाढी आउन थालेपछि धमिलो पानीबाट माछा जोगाउन हामी कुलो फेदै गर्दा एक्कासी ठूलो बाढी आयो,’ उहाँले भन्नुभयो, ‘हेर्दाहेर्दै करोडौंको सम्पत्ति बगरमा परिणत भयो ।’ भण्डारीको ट्राउट फार्मबाट हराइरहेका एक कर्मचारी अझै बेपत्ता छन् ।

सोही बाढीले पाल्चोकको रातोपुलमा रहेको युवराज खड्काको ट्राउट फार्म पनि बाढीले बगर बनाएको छ । रिसोर्ट समेत सञ्चालन गरेका खड्काको डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताउनुहुन्छ । भौतिक संरचना मात्रै डेढ करोडको क्षती भएको उहाँको उत्पादीत माछा र जग्गा समेतको मुल्य जोड्दा त्यो रकम धेरै गुणा बढ्न जान्छ ।
ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा आफूहरू व्यवसायमा फर्कन सक्ने अवस्था नरहेको खड्का बताउनुहुन्छ । पर्यटकको प्रमुख आकर्षण रहेको मेलम्ची र इन्द्रावती करिडोरमा रहेका सातैवटा माछा फार्मको नाम निशान मेटाएको छ । हेलम्बुमा सञ्चालित फार्ममा मात्रै ६० टनभन्दा बाढी माछा उत्पादन हुन्थ्यो ।

लगानीअनुसारको अम्दानी भएकाले यस व्यवसायमा युवाहरूले लगानी बढाउँदै गएका थिए । एउटा ट्राउट फार्मले मात्रै कम्तीमा चार करोड लगानी भएको थियो । ती सबै फार्म बाढीले बगाएको छ । हेलम्बुको ट्राउट माछा खानकै लागि धेरै पर्यटक आउने गरेको हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
हेलम्बु र मेलम्चीमा भएका आठ वटा ट्राउट फार्ममा ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । हेलम्बु क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भुमिका निभाएको ट्राउट फार्म नष्ट हुँदा सम्वृद्ध हेलम्बुको सपनामा समेत असर परेको छ ।
प्रतिक्रिया दिनुहोस्