
अक्कल कुँवर
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा सम्मलित विपक्षी गठबन्धन बन्यो । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको मुद्दा सुनुवाइका क्रममा छ ।
सत्तारुढ दल नेकपा एमाले र जसपाभित्र दिन प्रतिदिन परिवर्तन भइरहेको राजनीतिक घटनाक्रमले गठबन्धन तरङ्गित हुने गरेको छ । नेताहरूले गठबनधनलाई थप सुदृढ बनाउने भनिरँहदा एमाले र जसपाको आन्तरिक विवादमा निर्भर विपक्षी गठबन्धन आगामी दिनमा कसरी बलियो र सुदृढ होला भन्ने चासो देखिएको छ ।
विपक्षी गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले विपक्षी गठबन्धनलाई थप सुदृढ र विस्तार गर्ने निर्णय ग¥यो । प्रतिनिधिसभा विघटनपछि बनेको गठबन्धनलाई अनुमोदन गर्दै बैठकले संविधान र लोकतन्त्र रक्षाका पक्षधर अन्य शक्तिहरुलाई पनि गठबन्धनमा सहभागी गराउने निर्णय गर्यो ।
नेकपा एमाले भित्रको विवाद समाधानको लागि भइरहेका प्रयास र प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइकाबीच पनि गठबन्धनका शीर्ष नेताहरूको बैठक निरन्तर बसिरहेको छ । गठबन्धनलाई थप मजबुत बनाउने कांग्रेसले निर्णय गरेको पर्सीपल्ट अर्थात आइतबार साँझ विपक्षी गठबन्धनमा रहेका ५ दलका शीर्ष नेताहरूको बैठकले पनि संविधान, लोकतन्त्रको रक्षा र बाह्य हस्तक्षेपको अन्त्य र प्रतिगमन रोक्न गठबन्धनलाई थप सुदृढ बनाउने निर्णय गर्यो ।
तर, राजनीतिक वृत्तमा नेकपा एमालेको विवाद समाधान उन्मुख भएको र एमाले एक ढिक्का हुने बित्तिकै विपक्षी गठबन्धन छिन्नभिन्न हुने विश्लेषण गरिँदैछ । गठबन्धनका नेताहरू भने एमाले र जसपाको आन्तरिक विवादले जुनसुकै दिशा तय गरे पनि गठबन्धनमा कुनै असर नपर्ने जिकिर गर्छन् ।
राष्ट्रियता स्वाधिनता, लोकतन्त्रको रक्षा, समानुपातिक समावेशीकरण, संघीयतालाई सुदृढ गर्दै कार्यान्वय गर्ने र देशलाई सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा लाने सवालमा परिवर्तनकारी शक्तिहरूबीचको गठबन्धन भएकाले पछिसम्म पनि आफूहरूले अगाडि बढाउन चाहेको जसपाको यादवपक्षका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।
हुन त गठबन्धनमा सम्मिलित पार्टीभित्रै कतिपय नेताहरू गठबन्धनप्रति असन्तुष्ट छन् । विपक्षी गठबन्धन लामो समयसम्म नजाने नेपाली कांग्रेसका नेता लोकेश ढकाल बताउनुहुन्छ । ‘तीन वर्षसम्म ओलीको पछि दौडेको नेपाली कांग्रेस माधवकुमार नेपाल र प्रचण्डको पछि लाग्नु कांग्रेसको लागि घातक हुन्छ’, उहाँले भन्नुभयो, ‘कम्युनिष्टको भरै हुन्न, उनीहरू जुनसुकै बेला पनि मिल्छ सक्ने भएकाले अर्काको दलभित्र खेलेर कांग्रेसले लोकतन्त्रको र संविधानको रक्षा गर्छु भन्नुको औचित्य देखिँदैन ।’
विपक्षी गठबन्धनको एक महत्वपूर्ण हिस्सा माधवकुमार नेपाल भएको कारण एमालेभित्रको विवाद समाधानका लागि हुने आन्तरिक छलफलले पनि विपक्षी गठबन्धनका नेताहरू ससंकित हुने गरेका छन् । आइतबार साँझको बैठकमा पनि एमाले एकताको सम्भावना बारे कुरा उठेपछि नेता नेपालले आफू गठबन्धनबाट बाहिरिने सम्भावना नरहेको बताएका थिए ।
प्रदेश सरकार र राष्ट्रिय सभा उपनिर्वाचनमा सफलता हासिल गरेको गठबन्धनले प्रतिगमनलाई परास्त गर्न गठबन्धनको औचित्य थप पुष्टि भएको दावी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्