१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महामारीले बाराका होटल संकटमा, आफैँले खाेप किन्ने वातावरण बनाइदिन माग


0
Shares

प्रकाश लम्साल
बारा । महामारी रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा लम्बिँदै जाँदा बाराको होटल व्यवसाय नराम्ररी थलिएको छ ।

पहिलो लहरको कोभिड–१९ संक्रमणदेखि नै थला परेको होटल व्यवसाय बीचमा केही समय लयमा फर्कने आशा गरिएको थियो । यद्यपि दोस्रो लहरको आएसँगै जारी भएको निषेधाज्ञाको चपेटमा पर्दा करोडौंको नोक्सानी भएको व्यवसायी बताउँछन् ।

ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल रहेको बारामा भारतीय र आन्तरिक पर्यटक तथा राजमार्गका यात्रु नै होटलका मुख्य आधार हुन् । भारतीय नाका बन्द र जिल्ला जिल्लामा गरिएको निषेधाज्ञाले व्यवसायमा ऋणात्मक असर परेको होटल तथा पर्यटन व्यवसायी संघ, बाराले जनाएको छ ।

कोभिडविरुद्धको खोप लगाए आफूहरूको व्यवसाय पुरानै अवस्थामा फर्किने आश व्यवसायीहरूमा छ । सरकारले उपलब्ध गराउन नसके आफैँले किनेर खोप लगाउने वातावरण बनाइदिए व्यवसाय सञ्चालनमा सहजता आउने संघका बारा अध्यक्ष मोहन शर्मा बताउनुहुन्छ ।

ऋणको ब्याज र किस्ताले थिचेका होटल व्यवसायी अब आफैँ खोप किनेर भएपनि लगाउने पक्षमा पुगेका छन् । उनीहरूले बारामा रहेका ५ हजार बढी कर्मचारी एवं होटल व्यवसायीलाई खोप किन्नका लागि वातावरण तयार गरिदन सरकारसमक्ष माग गरेका छन् ।

निषेधाज्ञाले होटल तथा पर्यटन क्षेत्र धरासायी बनेको भन्दै संघका बारा अध्यक्ष शर्माले निषेधाज्ञा अवधिको सबै प्रकारका कर छुट गर्नुपर्ने मागसमेत गनुभएको छ । जिल्लाभर करिब १ सय भन्दा बढी होटलहरू रहेका छन् ।