
काभ्रे । धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुले १ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट नवौं नगर सभामा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन र नागरिकको उपचार, स्वरोजगार, आयआर्जन वृद्धि तथा गरिवी न्युनिकरणलाई प्राथमिकता दिइएको छ ।
यस्तै धुलिखेल नगर, धुवाँ मुक्त शहर कार्यक्रम अन्तर्गत दाउरा बालेर खाना बनाउने घर परिवारमा दाउरा प्रतिस्थापन गरी वैकल्पिक उर्जा प्रवद्र्धन गर्न विद्युतीय चुलो वितरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई कोरोना योद्धा पुरस्कार तथा पदकको व्यवस्था गर्ने, कोभिड–१९ को संक्रमण तथा प्राकृतिक विपदका कारण ज्यान गुमाएका नागरिकहरूको परिवारलाई किरिया तथा सदगत खर्च वापत १५ हजार उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रम छ ।
त्यसैगरी, एक घर एक बैंक खाता नीति अनुरुप हरेक परिवारमा एक बैंक खाता खोल्न नगरपालिकाको तर्फबाट आवश्यक कार्यक्रम गरिने लगायतका विषयवस्तु पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्