१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन लागिरहेको छुः दाहाल


0
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन आफू हरसम्भव लागिपरेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र भरतपुर ७ को आयोजनामा पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीका पिता स्वर्गीय पण्डित हरिप्रसाद पौडेलको सातौँ दिनको श्रद्धान्जली सभामा उहाँले आज सो कुरा बताउनुभएको हो ।

देशमा सोच्दै नसोचेको किसिमले राजनीतिक घटनाक्रम बढेको र धेरै वर्षको त्याग बलिदानबाट आएको संविधान झण्डै धरासायी हुने होकी भन्ने खतरासँगै देशै के हुने हो भन्ने जस्तो स्थिति आएको उहाँको भनाइ थियो ।

यस्तो अवस्था आउनु नेपाल र नेपाली जनताका लागि दुर्भाग्यपूर्ण रहेको तर नेपाली जनता सचेत रहेका कारण देश र संविधानलाई दुर्घटना हुनै नदिने दाहालको भनाइ छ ।

उहाँले भन्नुभयो,“तपाइहरु सबै सचेत हुनुहुन्छ । संविधान दुर्घटना हुन पनि दिदैनौँ । धेरै नपाली जनता सचेत रहेकाले र राजनीति दलभित्र पनि नेता कार्यकर्ता राष्ट्रप्रतिको जिम्मेवार भएकाले दुर्घटनामा देश जाँनै दिइँदैन । गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ ।”

देशमा स्थिरता आवश्यक ठानेर आफू कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न वाम गठवन्धनको र पार्टी एकताको पनि पहिलो प्रस्तावक भएपनि पाँच वर्ष नपुग्दै झण्डै दुई तिहाई नजिकको कम्युनिष्ट छिन्नभिन्न हुनुले दुःखित बनाएको प्रचण्डको भनाई थियो । उहाँले आफू सदैव देश र जनताको एकताको पक्षमा र राष्ट्रको समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर हिँडिरहेको बताउनुभयो ।