
मनाङ । मनाङको चामेस्थित मर्स्याङ्दी नदी फेरि थुनिएको छ । नदी थुनिँदा चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने चामेबजार जाने पुल जोखिममा परेको छ ।
पुलमा रूख र ढुङ्गा अड्किँदा नदी थुनिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको उहाँले जानकारी दिनुभयो । नदी थुनिएपछि पुल नजिकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । हिजो साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।
केहि दिन अगाडि पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । नदी थुनिएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो । नदीको बहाव बढ्दै गए बाढीले चामे बजारमा थप जोखिममा परेको छ ।
सुरक्षाका सबै निकायसँग समन्वय गरी नदी खुलाउने प्रयास भइरहेको छ । चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्