१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल टेलिकमको विज्ञप्ति, ‘अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध’


0
Shares

काठमाडौं । नेपाल टेलिकमको अप्रत्याशित समस्याका कारण मंगलबार बिहान जीएसएम मोबाइलमा सवा दुई घण्टा सेवा अवरुद्ध भएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै टेलिकमले अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको जनाएको हो ।

बिहान ६ बजे सेवा अवरुद्ध भएको जानकारी पाउनेवित्तिकै समाधानका लागि तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचालु गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने र समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकता दिइएकाले सावा दुई घण्टामै सेवा सुचालु गर्न सकिएको टेलिकमले जनाएको छ ।

बिहान सवा दुई घण्टा मुख्यतः स्मार्ट फोन सेटहरूमा भ्वाइस सेवामात्र अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ । कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने उल्लेख टेलिकमले ग्राहकसँग माफी मागेको छ ।

तर, टेलिकमकै कार्यरत कर्मचारीहरूकाे संगठन नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले भने बारम्बार हुने यस्तै प्रकृतिका घटनाहरू नियोजित ढङ्गबाट संस्थालाई धराशायी बनाउने चलखेल भएको आशंका व्यक्त गरेका छन् । एकातिर टेलिकमको राजश्व दिनानुदिन घट्दै जानु र सेवा अवरुद्धका घटनाहरू बारम्बार दोहोरिनु सधैँ संयोगमात्र हुन नसक्ने संगठनको ठहर छ ।

बुधबार कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी तथा अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई ज्ञापनपत्र बुझाउँदै संगठनले सेवा अवरुद्धका घटनाहरू पटक–पटक भइरहँदासमेत प्राविधिक छानविनमार्फत विश्वसनीय प्राविधिक कारण नदेखाइनुले यस्ता घटनाप्रति शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्था आएको जनाएको छ ।

संगठनले कम्पनीप्रतिको विश्वास कायम गर्नुका साथै आगामी दिनमा यस्ता घटनाहरु नदोहोरिने अवस्था सुनिश्चित गर्न घटनाको उच्चस्तरीय छानविन समितिमार्फत छानविन गर्नसमेत माग गरेको छ । साथै दोषीउपर हदैसम्मको कारवाही प्रक्रिया अघि बढाउन तथा आगामी दिनमा यस्ता घटना नदोहोरिने गरी प्राविधिक व्यवस्था मिलाउन संगठनले माग गरेको छ ।