२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यता छानविन मापदण्ड अस्वीकार गर्ने पौडेल पक्षको निर्णय


0
Shares

रोमन आचार्य
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संस्थापन पक्ष हावी हुनेगरी क्रियाशील सदस्यता छानविन मापदण्ड अस्वीकार गर्ने निर्णयमा पुगेको छ ।

पार्टी महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा मंगलबार बसेको बैठकले संस्थापन पक्षले मनपरी ढङ्गले सदस्यता वितरण गरेकाले समस्या उत्पन्न भएको निष्कर्ष निकालेको हो ।

बैठकमा रमेश लेखक नेतृत्वको क्रियाशील छानविन समितिका सदस्यहरू कल्याण गुरुङ, जीवन परियार र प्रदीप पौडेलले शीर्ष नेताहरूलाई क्रियाशील सदस्यतामा देखिएका समस्याहरूको बिफ्रिङ गरेका थिए ।

‘मापदण्ड अनुसार सदस्यता वितरण भएको छैन, महाधिवेशन आफू अनुकुल बनाउन संस्थापन पक्षले मनपरी ढङ्गले योग्यता नपुगेकाहरूलाई पनि सदस्यता वितरण गरेको छ,’ बैठकमा सहभागी एक नेताले भन्नुभयो, ‘हामीले शीर्ष नेताहरूलाई सोही कुरा राख्यौँ, उहाँहरूले मापदण्डमा कडाइ गर्न भन्नुभएको छ ।’

बैठकलाई बिफ्रिङ गर्दै क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरूले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई सदस्यता वितरण गर्दा संस्थापन पक्षबाट मनपरी भएको बताएका छन् । लोकतान्त्रिक फोरम, राप्रपा लगायत अन्य पार्टी परित्याग गरेकाहरूलाई सदस्यता वितरण गर्दा संस्थापन पक्षले शक्तिको चरम दुरुपयोग गरेको उनीहरूको आरोप छ ।

निष्पक्ष महाधिवेशन गराउन क्रियाशील सदस्यताको मापदण्डको विषयमा छलफल भएको बैठकमा सहभागी समितिका सदस्य कल्याण गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘समयमै महाधिवेशन गर्न क्रियाशील सदस्यताको समस्यालाई कसरी टुङ्गोमा पु¥याउने भन्ने विषयमा छलफल भएको हो ।’

यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाउनुभएको छ । १४ औं महाधिवेशनका बारेमा छलफल गर्न पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूलाई डाक्नुभएको हो । केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार दियालो पार्टी प्यालेसमा बिहीबार दिउँसो २ बजेका लागि भेला डाकिएको छ ।