
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध रहेको बताउनुभएको छ ।
पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उहाँले नागरिकको जीवन जोगाउन र उनीहरूको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने बताउनुभयो । संघ सरकारले अनुदानका रूपमा पाउने र खरिद गर्नेबाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत आफूहरूले अध्ययन गरिरहेको उहाँको भनाइ छ ।
संघीयताको आधारस्तम्भ स्थानीय तहलाई थप मजबुत र अधिकार सम्पन्न गराउन संघ र प्रदेश सरकार लाग्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने उहाँको तर्क छ । विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र सहकार्य हुनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रमको सुरुमा मुख्यमन्त्री पोखरेलले महानगरले प्रकाशन गरेको कानुनहरुको संगालो विमोचन गर्नुभएको थियो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश समृद्धिको मुख्य आधार पर्यटन नै भएकाले पोखरालाई पर्यटकीय नगर घोषणा गरेर त्यसै अनुसारको पूर्वाधार तयारमा सरकार प्रतिबद्ध रहेको जनाउनुभयो । पर्यटकीय, शैक्षिक र हरेक हिसावले अग्रपथमा लम्केको पोखरालाई अझै समुन्नत बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्