
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ ।
वडाध्यक्ष श्रेष्ठको गएराती जेसिबी चालकसँग विवाद हुँदा जेसिबीले ठक्कर दिई हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो ।
गएराती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर बसेका थिए । राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भयो ।
सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
उहाँले घटनाबारे पूर्व योजना नभई आवेशमा आएर घटना गराएको देखिएको बताउनुभयो । घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहनु भएका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार पे्रमराज दाहाल र जेसिबीका चालक हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्