१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोलुदूधकुण्डले तयार पार्यो स्थानीय पाठ्यक्रम, यही शैक्षिक सत्रबाट लागू गर्ने


0
Shares

सन्तोष राउत
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले कक्षा ५ का लागि नगरपालिकास्तरीय पाठ्यक्रम तयार गरेको छ ।

सोलुखुम्बु बहुमूखी क्याम्पसका प्रमुख तथा पाठ्यक्रम निर्माण समितिका संयोजक उद्धवकुमार शर्माले साझा स्थानीय पाठ्यक्रम तयार पारेर नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पालाई हस्तान्तरण गर्नुभएको हो ।

पाठ्यक्रमलाई यही शैक्षिक सत्रदेखि लागू गर्ने नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा समावेश गरी नगरपालिकाले कक्षा ५ मा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको मेयर शेर्पाले बताउनुभयो ।

नगरपालिका क्षेत्रभित्रका प्राकृतिक स्रोत साधन तथा विकासका आधार, स्थानीय जातजाति, भुगोल, संस्कृति, रहनसहन, भेषभुषा, पर्यटन, आर्थिक, सामाजिक राजनीतिक विषयलाई समावेश गरी एक सय पुर्णाङ्कको पाठ्यक्रम निर्माण गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक शर्माले जानकारी दिनुभयो ।

स्थानीय विषय विद्यार्थीको लागि नयाँ हुने भएकाले अध्ययनमा रुचि राख्ने र आर्जित ज्ञानले स्थानीय विषय पुस्तान्तरण हुने संयोजक शर्माको भनाइ छ । अघिल्लो वर्षनै तयार भएको पाठ्यक्रम कोभिड–१९ का कारण शैक्षिक संस्था बन्द भएपछि लागू भएको थिएन । पाठ्यक्रम निर्माणका क्रममा वडास्तरसम्म सुझाव संकलन गरिएको थियो ।

वर्तमान अवस्थामा स्थानीय पाठ्यक्रममा अंग्रेजी विषय पढ्दै आएकामा अब भने नगरपालिकाले तयार पारेको पाठ्यपुस्तक अध्ययन गर्नेछन् ।