
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि बैठक बस्न लागेको एमालेले जनाएको छ ।
पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुने भएकोले सैद्धान्तिक कार्यदिशा, विधान र विचारमाथि छलफल गर्न विधान महाधिवेशन गर्न लागिएको हो ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था गरेकाले त्यसको गृहकार्य भइरहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
विधानको धारा १३ मा एक राष्ट्रिय महाधिवेशनदेखि अर्को महाधिवेशनका बीचमा विधान महाधिवेशन गरिने उल्लेख छ ।
विधान महाधिवेशन वर्तमान राजनीतिक घटनाक्रमलाई हेरेर एक दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी एमालेको छ ।
पछिल्लो समय एमालेको शीर्ष नेतृत्व विधान महाधिवेशनको गृहकार्यमा छ । त्यसका लागि गर्नुपर्ने पूर्व तयारी र संगठनात्मक योजनाको समेत गृहकार्य भइरहेको एमाले स्रोतले जनाएको छ ।
महासचिव ईश्वर पोखरेल सहितको टिमले विधान महाधिवेशनको लागि आवश्यक पूर्व तयारीको काम गरिरहेको छ । एमालेको दशौं महाधिवेशन मंसिरमा तोकिएको छ ।
चुनावका कारण महाधिवेशन सरे पनि विधान महाधिवेशन भने केही समयमै सम्पन्न गर्न सकिने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्