१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केपीजीलाई सम्झँदा कठै विचरा भन्न पनि मनलाग्छ– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताउनुभएको छ ।

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्र्तक्रियामा बोल्दै अध्यक्ष दाहालले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाउनुभएको हो । उहाँले सत्ताकेन्द्रीत भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफुले पाएको दाबी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओली इतिहासमा नै सबैभन्दा कलंकित र बद्नाम भएको तथा राजनीतिक भविश्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गोटीहरू चाल्न सक्ने खतरा रहेको अध्यक्ष दाहालले दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रुपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुल्ला षड्यन्त्र गरेको पनि अध्यक्ष दाहालले आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले हारेको अनुभुत आफुले गरेको भन्दै उहाँले नेपालको इतिहासमा प्रधानमन्त्री ओली सबैभन्दा कलंकित र बेइमान भएर जाने जिकिर गर्नुभयो । ‘केपीजी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको रूपमा, सबभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमानबाहेक केहि नजान्ने निरंकुशको रुपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो,’ उहाँले भन्नुभयो, ‘मलाई त कहिलेकाहीँ केपी जीलाई यसो सम्झिदाखेरी पनि कठै विचरा भन्नपनि मन लाग्छ । त्यत्रो वर्ष दुःख ग¥या हो । चौध वर्ष जेल पनि बस्या हो हुँदो रहेनछ नि त दृष्टिकोण र प्रवृत्ति नभएपछि त जेल बसेर पनि के हुँदो रहेछ र ?’

अध्यक्ष दाहालले ढिलै भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गर्नुभयो । तथ्य, तर्क र प्रमाणले पुनःस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उहाँले बताउनुभयो । यद्यपि संसद पुनःस्थापना नै भए पनि ठूलो खेल चलिराखेको गन्ध आफूले पाएको उहाँले बताउनुभयो । पुनःस्थापनाले मात्रै समस्याको समाधान नहुने भन्दै प्रचण्डले पुनःस्थापित संसद नहुनुभन्दा पनि नराम्रो स्थितिमा हुने आशंका समेत व्यक्त गर्नुभयो । अझै पनि ढुक्क हुनसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

‘आज पनि म भन्छु संसद पुनःस्थापना हुन्छ । त्यतिमात्रै होइन, शेरबहादुरजीकै नेतृत्वमा सरकार गठन गर्न परमादेश जारी पनि हुन्छ भनेर म भन्छु । अदालतले गर्छ किनकी संविधानको व्यवस्था अनुसार हाम्रो परम्परा र नजीर अनुसार त्यसो नहुनुपर्ने कारण नै छैन ।’ उहाँले भन्नुभयो, ‘संसद त पुर्नस्थापना हुन्छ । सबै तथ्य, तर्क, प्रमाण, नजिर सबै हेर्दा संसद पुनःस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ त छैन । तर म अझै विश्वस्त हुन सक्या छैन । अझै पनि एउटा खेल अलि ठुलै चलिराखेको पनि गन्ध आउँछ मलाई ।’

अध्यक्ष प्रचण्डले सरकार अवैधानिक र असंवैधानिक भएको भन्दै यस सरकारले गरेका सम्पूर्ण संवैधानिक निकायहरूमा गरेका नियुक्तीलाई गठबन्धनको सरकारले खारेज गर्ने बताउनुभयो । ओली सरकारले गरेको निर्णय खारेजी गरेर मान्यता स्थापित हुनेगरी पुनःनियुक्ति गरिने बताउनुभयो ।

अध्यक्ष दाहालले सरकार कोभिड–१९ को महामारीबाट जनतालाई जोगाउन गम्भीर नरहेको बताउनुभयो । कमिसनको ध्यानमा लागेर कोभिडविरुद्धको खोप सरकारले ल्याउन नसकेको भन्दै उहाँले गठबन्धनको सरकारको पहिलो प्राथमिकता भने कोभिड–१९ र विपक्षीहरूबाट जनताको जीवन रक्षा गर्ने नै पहिलो प्राथमिकता हुने पनि उहाँले बताउनुभयो ।